रुपन्देही,२८ चैत । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ बनकट्टामा स्थापना भएको सैनामैना प्राकृतिक चिकित्सालय (सामुदायिक अस्पताल) मा विभिन्न प्राकृतिक पद्दतीबाट उपचार हुने गरेको छ । जडीबुटीका औषधि तथा थेरापीले यहाँ बिरामीको उपचार हुने गरेको छ ।
वि.सं. २०७६ सालबाट सेवा दिन थालेको यो चिकित्सालय (अस्पताल) अहिले निकै लोकप्रिय बनेको छ । रुपन्देही मात्र नभएर नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत यहाँ बिरामी आउने गरेका छन् । यस अस्पतालमा, फूड थेरापी, अकुपन्चर, चुपिङ, माटो स्नान, डिलक्स हाइड्रो मसाज, पोटली मसाज, सिरोधारा, स्टीम बाथ, कट्टी बस्ती मसाज, हिप बाथ, प्लेन डिलक्स आर्म तथा फूट बाथ लगायतका पद्दतीबाट उपचार हुने गरेकोे अस्पतालका अध्यक्ष चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अस्पतालमा बिरामीको उपचार सबै प्राकृतिक पद्दतीबाट गरिन्छ ।
कुल सात विगाहा क्षेत्रफल जग्गा रहेको यो अस्पतालको पाँच बिगाहा क्षेत्रमा विभिन्न प्रजातिका जडिबुटी लगाउने काम भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो । त्यसका लागि डीजीएम नामक गैरसरकारी संस्थासंग सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो । यो जग्गामा जडिबुटीका ९ सय बनस्पती बिरुवा लगाइने कार्कीले बताउनुभयो । अस्पतालका सचिव रामबहादुर कुँवरले वृहत योजना अनुसार दुई बिगाहामा भौतिक संरचना निर्माण भइरहेको जानकारी दिनुभयो ।
हाल यो अस्पतालमा १८ जना बिरामीलाई प्राकृतिक पद्दतीबाट उपचार गराईरहेको डा.अश्मी क्षेत्रले बताउनुभयो । नवलपरासीको गैडाकोटबाट आफ्ना श्रीमान्को उपचारमा आउनुभएकी प्रिया रानाले अस्पतालको सेवासुविधा निकै राम्रो भएको प्रतिक्रिया दिनुभयो । अन्य ठाउँमा उपचार गराउँदा निको नभएपछि यस अस्पतालमा आएको र बिरामीलाई यहाँ राम्रो सुधार भएको पनि प्रियाले बताउनुभयो । अस्पतालका डाक्टर तथा कर्मचारीबाट राम्रो ब्यवहार पाएको उहाँले अनुभव सुनाउनुभयो । उपचाररत बिरामी दुरपता पौडेलले पनि अस्पतालको उपचारबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । आफू निको हुँदै गएकोमा खुसी ब्यक्त गर्नुभयो ।
वि.सं. २०६९ सालमा भोगाधिकार पाएको यो अस्पतालमा चालु आर्थिक बर्षका लागि लुम्बिनी प्रदेश सरकारले २५ लाख बजेट दिएको छ । पन्चतत्वको प्रयोगबाट उपचार हुने यो अस्पताल समुदायमा निकै लोकप्रिय बन्दै गएकाले राज्यले थप लगानी गरेर सहयोग गर्नुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो । यो अस्पतालले जडिबुटी उत्पादन, प्रशोधन तथा बजारीकरण समेत गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

