काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ ।
सांसदहरू अब हिजोको जस्तो सामान्य अभियन्ता वा पेसाकर्मी मात्र नरहेको भन्दै उहाँले पदीय गरिमा कायम राख्न आग्रह गर्नुभएको हो । सञ्चार माध्यममा आउन र भाइरल हुन रमाइलो लागे पनि त्यसले पार्ने गम्भीर असरबारे उहाँले सांसदको ध्यानाकर्षण गराउनुभयो । कुनै पनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग सरसल्लाह गर्न उहाँले निर्देशन दिनुभयो ।
सभापति लामिछानेले आफ्ना सांसदलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभयो । जनताले पाउने दुःख र सास्तीको महसुस सांसदले पनि गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ जथाभाबी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन । भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्ति वा क्रियाकलापबाट हुनु हुँदैन । प्रत्येक भोटको इज्जत हुनुपर्छ ।”
उहाँले सांसदको अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै गम्भिर बन्न सचेत गराउनुभयो । “यदि अझै पनि म हिजोकै जस्तो सार्वजनिक अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ,” लामिछानेले भन्नुभयो, “सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस् । जनताका छोराछोरीलाई जुन अप्ठ्यारो पर्छ, तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन । सरकारी सेवालाई चुस्त बनाउने हो भने हामीले त्यहीँबाट सेवा लिनुपर्छ ।”
सांसद भएको ब्याज वा प्रमाणपत्रले एकाएक ज्ञान नदिने भन्दै उहाँले निरन्तर अध्ययन गर्न र संसद् नचलेको बेला ठुला सेमिनारमा भन्दा गाउँ, टोल र चिया चौतारामा गएर जनताका समस्या सुन्न सांसदहरूलाई निर्देशन दिनुभयो ।
सांसदको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसदको मुख्य काम कानुन निर्माण गर्नु रहेको उल्लेख गर्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराउनुभयो । पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी उहाँले दिनुभयो ।
देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उहाँले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पार्नुभयो । मुलुकमा बिचौलियाको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उहाँले कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसद्मा पुगेकी ‘सहिदकी आमा’ लाई सम्झन सांसदलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी कानुन बनाउन आएका हौँ । कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईंको काँधमा नेपाली जनताले दिएका हुन् । कुन धाराले कहाँ अड्काएको छ, मान्छेको घरमा धारा आउन, बिजुली बल्न र इन्टरनेट चल्न के गर्नुपर्छ भन्ने तपाईंलाई थाहा हुनुपर्छ । त्यसकारण यस पटक यो शक्तिको दौडधुप, यताउता धाउने र फोटो खिचेर बस्ने पसल बन्द गर्नुहोला ।”
गुट बनाएर कांग्रेस वा एमालेलाई जित्न नसकिने भन्दै उहाँले घण्टीमुनि सबै अटाउन सक्ने बताउनुभयो । “आफ्नो स्थान के हुन्छ, म कहाँ हुन्छु, पार्टीमा मेरो हैसियत के हुन्छ भन्ने ‘म केन्द्रित’ राजनीतिबाट माथि उठ्न सकिएन भने हाम्रो हविगत पुराना दलका नेताभन्दा खराब हुन्छ,” लामिछानेले भन्नुभयो, “शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ । हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ, त्यसैले हामी आफैँ बलियो र एकताबद्ध हुनुपर्छ ।”
जनताले पुराना दललाई ३६ वर्ष कुरे पनि रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्य नभएको यथार्थलाई बुझ्न उहाँले आग्रह गर्नुभयो ।

