पाल्पा, १६ फागुन । प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माघव थापाले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान जारी राख्नुभएको छ । घरदैलोको क्रममा मतदाताले निकै उत्साहपूर्वक प्रतिक्रिया जनाएको उहाँले बताउनुभयो ।
पुराना राजनीतिक दलप्रति वितृष्णा बढेको आफूले प्रत्यक्ष सुन्न र अवलोकन गर्न पाएको भन्दै उम्मेदवार थापाले जनताले चाहे अनुसार आफूले केही नयाँ काम गरेर देखाउने अठोट लिएको बताउनुभयो । मतदाताको घरदैलोमा पुगेर गाउँ बस्तीका समस्याहरु बुझ्ने काम गरिरहेको भन्दै थापाले निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताको सेवामा सधै लागिरहने प्रतिबद्धता जनाउनुभयो । पुराना राजनीतिक दलका उम्मेदवारले बिगतमा आश्वासन धेरै दिएको तर बाचा पुरा नगरेको आम जनताले गुनासो सुनाएको उहाँले बताउनुभयो । नयाँ दल र उम्मेदवारको परीक्षा लिन यसपटक आम जनताले चाहेको भन्दै थापाले यस निर्वाचनमा बिजयी हुृन सके जनचाहना अनुसार इमान्दारीपूर्वक आफूले काम गर्ने उल्लेख गर्नुभयो ।
मतदाता भेटघाटको क्रममा उम्मेदवार थापाले देशको बदलिंदो राजनीतिक परिस्थितमा यसपटका रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभएको छ । देशमा ब्याप्त भ्रष्टाचार रोक्न, सुशासन र दिगो विकासका लागि नीति बनाउनुपर्ने भएकाले नीति निर्माण तहमा रास्वपाका नेतालाई पुर्याउनुपर्ने उहाँको भनाई छ । रास्वपाबाट उम्मेदवारी दिएका उम्मेदवारहरु सबै सक्षम, पढेलेखेका र कुनै न कुनै काममा विज्ञता हासिल गरेका युवा भएकाले उनीहरुलाई राज्यको नीति निर्माण तहमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता उहाँले औंल्याउनुभयो । जनताका साना घरायसी समस्यादेखि गाउँ, टोल र समग्र देशको मूल कानुनमा सुधार गर्न पनि रास्वपाका उम्मेदवारलाई यसपटक बहुमत दिनुपर्ने उहाँको भनाई छ ।
मतदाता भेटघाटको क्रममा स्थानीय जानताले थापालाई सुझाव सल्लाह समेत दिएका छन् । पाल्पा रिब्दीकोट ६ ढुस्टुङकी भिमा बगालेले यसअघि चुनाव जितेर गएका उम्मेदवारले जनचाहना अनुसार काम गर्न नसकेकाले यसपटक रास्वपा उम्मेदवार थापालाई भोट दिने निणर्य लिएको बताउनुभयो । देशको नीति निर्माण तहमा पुगेर जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पुरानाले भन्दा केही फरक र उन्नत काम गरेर देखाउन आग्रह गर्दै बगालेले यसपटक भोट परिर्वतन गरेर रास्वपाको घण्टी चुनाव चिन्हमा मतदान गर्ने आफूले निर्णय लिएको उल्लेख गर्नुभयो ।
त्यस्तै रैनादेवि छहरा ७ राजापानीका युवा ओमबहादुर राष्कोटी मगरले आमुल परिवर्तनको संवाहक रास्वपानै हुने संकेत देखिएकाले यसपटक घण्टीमै मतदान गर्ने र स्थानीय बासिन्दालाई एकताबद्ध गर्न आफूले पहल गर्ने बताउनुभयो । सोही स्थानका धनबहादुर रानाले पनि पुराना दलबाट आश्वासन पाएअनुसार काम नभएकाले यसपटक भोट परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । खुर्सानेका जितु बुढाथोकीले पनि यसपटक नयाँ पार्टी र नेतालाई परीक्षण गर्नुपर्ने बताउनुभयो ।


