नारायण न्यौपाने
पाल्पा, १४ फागुन । पाल्पामा सांसद जनप्रतिनिधिहरुले निर्वाचन आचारसंहिताको ब्यापक उल्लंघन गरेका छन् । निर्वाचन आचारसंहिता अन्तरगत सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले कुनै दलको पक्षमा भोट माग्न मिल्दैन तर पाल्पामा सांसद जनप्रतिनिधिहरुले नेपाली कांग्रेसका उम्मेदवारहरुको मत माग्दै आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।
प्रदेश सभा सदस्य खुलेआम कांग्रेसलाई भोट माग्दै
प्रदेशसभा सदस्य बीर बहादुर रानाले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन गर्दै नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठसँगै फुलमाला लगाएर टोल टोलमा पुगेर नेपाली कांग्रेसको पक्षमा मत मागिरहेका छन् । नेपाली कांग्रेसका युवा नेता अर्जुन कार्कीको टिकटक एकाउन्टमा उक्त भिडियो प्रष्ट छ । (भिडियो सुरक्षित छ ।)
प्रवक्ता सहित वडाध्यक्ष खुलेआम मत माग्दै डुल्दै
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले स्वयम् निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै आएका छन् । उनीउम्मेदवारको अघिपछि टोल बस्तीमा जाने, भाषण नगर्ने तर भाषण सुन्ने भन्दै मत प्रभावित गराउन खोजेको आरोप छ ।
तानसेन नगरपालिकाका जनप्रतिनिधिहरु खुलेआम भोट माग्ने अभियानमा छन् । उनीहरुले कार्यालय समयमा समेत कांग्रेसका उम्मेदवारहरुसँगै भोट माग्दै टोल टोलमा हिडिरहेको देखिन्छ । तानसेन नगरपालिका ११ का वडाध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले पनि निर्वाचन आचार संहितालाई लत्याएका छन् । उनी पनि कांग्रेसको ब्यानर अगाडि उभिएर तानसेनका टोल बस्तीमा रुख चिन्हमा मत माग्दै गरेको भिडियो प्रष्ट छ । तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल बस्याल पनि भुसलडाँडा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ सँगै मत माग्दै हिडेको पाइएको छ ।
तानसेन नगरपालिका १३ का वडा सदस्य कर्ण बहादुर रेश्मी मगरले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफ्नो फेसबुक भिडियो मार्फत गगन थापा, पाल्पाका कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठ र सन्दिप रानाको फोटो देखाई रुख चिन्हमा मत मागेका छन् । तानसेन नगरपालिका वडा नं. १ का वडा सदस्य रामप्रसाद भट्टराई पनि पदीय मर्यादा भुलेर नेपाली कांगे्रसको पक्षमा मत माग्दै हिडेका छन् ।
पाल्पा क्षेत्र नं. १ नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाको प्रचार सामाग्रीमा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुुर चिदीको फोटो दुरुपयोग गरिएको छ । अन्य सन्दर्भमा खिचिएको फोटोलाई निर्वाचन प्रचारको रुपमा प्रयोग गरिएको हो ।
पाल्पाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले सार्वजनिक पदमा रहेका ब्यक्तिहरु मत माग्दै हिड्ने कार्य आचारसंहिता बिपरीत हुने बताए । निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकाका पदाधिकारीले आफु बहाल रहेको बाहेक अन्य स्थानीय तहमा मात्रै निर्वाचन प्रचार प्रसारमा लाग्न पाइने भनेर उल्लेख छ । तर तानसेनका जनप्रतिनिधिहरु आफू बहाल रहेकै क्षेत्रमा मत माग्न कस्सिएर लागेका छन् । यो कार्य निर्वाचन आचार संहिताको बिपरीत भएको बिश्लेषकहरुको भनाई छ ।


