रुपन्देही, १२ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रुपन्देही क्षेत्र नं २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’संग रुपन्देहीको सैनामैनाबासीले सुकम्बासी समास्या सामाधान गरिदिन आग्रह गरेका छन् । दशकौंसम्म यहाँका बासिन्दाले जग्गाको लालपुर्जा नपाएपछि स्थानीयले प्रायः सबै पार्टीका उम्मेदवारलाई यही याचना गर्ने गरेका छन् ।
सुकुम्वासी वस्तीका वासिन्दाको मुख्य गुनासो छ– अघिपछि गाउँघरमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर दिनदिनै भोट माग्न आउँछन् । आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् । जनताले गुनासो गरिरहेको यहीं समयमा मंगलवार दिउँसो रुपन्देहीको सैनामैना– १ पेरिसडाँडा टोलमा टुपलुक्क पुग्नुभयो रुपन्देही– २ का उम्मेदवार विश्वदीप । उहाँलाई पनि स्थानीयले उही गुनासो गरे ।
स्थानीय वासिन्दालाई सम्बोधन विश्वदीपले भन्नुभयो, ‘मेरो घर पनि सैनामैना बनकट्टामै पर्छ । म स्वयं पनि लालापूर्जाविहीन नागरिक हुँ । आफ्नो घरको लालापूर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु ।’ उहाँले थप्नुभयो, ‘आज बुटवललाई बाहिरबाट जति चिटिक्क र सुन्दर देखाए पनि हजारांै नागरिकले भूमि माथिको अधिकार प्राप्त गर्न सकेका छैनन् । त्यसैले यसपटक तारा चुनाव चिन्हमा मतदान गरेर मलाई संसदमा पठाइदिनुहोस् । म तपाईंहरूकै प्रतिनिधि बनेर, लालापूर्जाविहीन सबै नागरिकको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’
सैनामैना नगरपालिकाका जनप्रतिनिधि भुवनबहादुर क्षेत्रीका अनुसार यस पालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन् । ती मध्ये वडा नं १ का एक सय ७३ वटा लालपूर्जा मात्र हालसम्म बाँडिएको छ, नापीको काम सकिएको छ । यस वडामा मात्रै झण्डै ४ हजार पाँच सयले राजस्व बुझाउने गर्दछन । तर अधिकांश वडामा नापजाँच नै भएको छैन ।
सैनामैनाका वडा नं २, ३, ४, र ७ मा नापी भएपनि केही ठाँउमा नापजाँच हुन बाँकी रहेको एवं अन्य वडामा नापी नै नभएको जनप्रतिनिधि क्षेत्रीले बताउनुभयो । उहाँले कैयौं वडामा पुरानो पूर्जावाला र ऐलानी जग्गा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतदेखि अहिलेसम्म अव्यवस्थित बसोवासी र सुकुम्वासीको पक्षमा कुनै पनि सरकारले काम गर्न सकेनन् । अर्का स्थानीय बिरबहादुर थापाले पनि सुुकुम्बासी समाधानका लागि कसैले पनि विषेश पहल अहिलेसम्म नगरेको गुनासो गर्नुभयो । यस निर्वाचन क्षेत्र नं २ मा सैनामैनाका वडा नं १, २ , ३ र ४ मात्रै पर्दछन् ।
अव्यवस्थित र सुकुम्वासी समस्या सैनामैनाको मात्रै समस्या होईन, रुपन्देही क्षेत्र नं २ मा पर्ने बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पनि उस्तै छ । निर्वाचनका बेला यी ठाँउका वासिन्दाले दैलोमै लालपूर्जा पाएको अनुभूति गर्छन अर्थात मौखिक आश्वासन पाउँछन् ।
बुटवलको वडा नं ११ मा सबैभन्दा धेरै अव्यवस्थित र सुकुम्वासी वस्ती छन् । त्यहाँ रहेका झण्डै १९ हजार मतदाता मध्ये ५० प्रतिशत अव्यवस्थित बसोवासी छन् । त्यस्तै वडा नं. १, २, १८ र १९ पनि सुकुम्बासी धेरै भएका वडा हुन् । त्यसबाहेक तिलोत्तमाको वडा नं १, २, ३, ४, ५, र ६ वडा पनि यहीं क्षेत्रमा पर्दछन् । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासी समस्या विद्यमान छ । वडा नं ३, ४ र ६ मा लालपूर्जा नपाएको बसोवासी बढी छन भने अन्य वडामा पनि पूर्जाबिहीन वासिन्दा छन् । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासीको समस्या अन्यत्र जस्तै समान छ । १ लाख ३५ हजार ५० मतदाता रहेको यस क्षेत्र सबैभन्दा बढी सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको क्षेत्र समेत हाे ।

