रुपन्देही १ मा यादवको घरदैलो अभियान जारी
रुपन्देही, १२ फागुन । आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान जारी राख्नुभएको छ ।
उम्मेदवार यादवले तिलोत्तममा नगरपालिका अन्तरगतका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ९ वटै वडाहरुमा एक चरणको घरदैलो अभियान पुरा गरेको निर्वाचन परिचालन समिति तिलोत्तमाका संयोजक प्रेम जीएमले जानकारी दिनुभयो । घरदैलो अभियानको क्रममा मतदाताले उत्साहपूर्वक भेटघाट र सुझाव समेत दिएको जीएमले बताउनुभयो । आईतबार र सोमबार तिलोत्तमाका ९ वटै वडाहरुमा घरदैलो गरिएको जीएमले बताउनुभयो ।
मंगलबार रोहिणी गाउँपालिका अन्तरगतका वडाहरुमा घरदैलो तथा कार्यकता भेटघाटका कार्यक्रम गरिएको निर्वाचन परिचालन मूल समिति संंयोजक लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । परिचालन समितिले निर्धारण गरेको कार्य तालिका अनुसार कार्यकर्ता भेटघाट, र्याल, घरदैलो तथा आम सभाहरु संचालन गरिएको न्यौपानेलो बताउनुभयो । मंगलबार भएको घरदैलोममा मतदातासंग कुरा गर्दै उम्मेदवार यादवले उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने, बिउविजन र मलको उचित ब्यवस्था मिलाउने, कृषि उपज संकलन केन्द्र तथा सीत भण्डार स्थापना गर्ने, भेटेनरी अस्पताल स्थापना गर्ने लगायतका जनमुखी काम गर्न पनि आफूलाई तारा चिन्हमा मतदान गर्ने आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले भ्रष्टाचार निवारण र सुशासनको लागि निर्वाचन हुन लागेको बताउनुभयो । यसअघिको सरकारले सामाजिक संजाल नियन्त्रणको नाममा जनताको आवाज बन्द गर्न खोजेकाले जनविद्रोह भएको उहाँले उल्लेख गर्नुभयो ।
जेन्जी आन्दोलनले उठाएका जायज मागहरुलाई अब आउने सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै नेता यादवले राजीनितक अस्थिरताको अन्त्य र सुशासनको पक्षमा काम गर्न नसके देश आन्तरिक द्धन्द्धमा फस्ने बताउनुभयो ।
यादवले आफ्नो निर्वाचन क्षेत्रमा उन्नत कृषि नीतिको प्रभावकारी कार्यान्वयन, नदी कटान रोकथाम, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोरका रूपमा विस्तार, सरकारी तथा सामुदायिक विद्यालयको विशेष प्राथमिकतासहित विकास, सीपमूलक शिक्षामा जोड दिइने बताउनुभयो । त्यस्तै मुस्लिम बस्ती व्यवस्थापनका लागि नयाँ मार्गचित्र, भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन पहल, विपद् व्यवस्थापन सुधारका लागि नयाँ योजनासहित आफू निर्वाचनमा होमिएको यादवले बताउनुभयो ।
रुपन्देही क्षेत्र नं. १ मा देवदह नगरपालिकाका १२, तिलोत्तमाका ९, रोहिणी गाउँपालिकाका ७ र ओमसतियाका ५ गरी ३३ वटा वडाहरु पर्दछन् । रुपन्देही क्षेत्र नंं १ मा यसअघि वि.सं. २०६४ सालमा निर्वाचन जित्नुभएका उम्मेदवार यादवले यसपटक पनि चुनाव जित्ने अपेक्षा गरिएको छ । यस क्षेत्रमा नेपाली काँगेसका हिरा केसी, नेकपा एमालेका दधिराम न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रज्वल बोहोरा लगायत चुनावी मैदानमा छन् ।
यस निर्वाचन क्षेत्र अन्तरगत देवदहमा ५१०७९, तिलोत्तमामा ४६७७९, रोहिणीमा २७६८८ र ओमसतियामा २१२८८ गरी कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् ।


