बुटवल, ९ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले लामो समयदेखि सडक नबन्दा हैरानी खेपिरहेका स्थानीयबासीसमक्ष लिखित प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका पाण्डेले चुनावी घरदैलो अभियानका क्रममा मौखिक आश्वासन मात्रै पर्याप्त नभएको भन्दै सडक निर्माणलाई प्राथमिकतामा राख्ने लिखित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । स्थानीयवासीले विगतमा पटक–पटक आश्वासन मात्रै पाएको गुनासो गरेपछि काम पूरा गर्ने स्पष्ट समयसीमा र पहल गर्ने प्रतिबद्धता कागजमै उतार्नुपरेको उहाँले बताउनुभयो ।
शुक्रबार रुपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा–५ मा आयोजित घरदैलो अभियानका क्रममा उहाँले ‘नागपथ’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रमा उहाँले लेख्नुभएको छ– म यस क्षेत्रमा सुशासन कायम राख्दै भ्रष्टाचार अन्त्य गर्न प्रतिबद्ध छु । साथै यस क्षेत्रको विकासका काममा स्थानीय तहसँग समन्वय गरी नागपथ (तिलोत्तमा–५) को बाटो स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
स्थानीय पूजा पाण्डेय र भीमा सुवेदीले बाटोको अवस्थाबारे गुनासो गरेपछि उहाँले लिखित बाचा गर्नुभएको हो । “हुन त प्रतिनिधिसभामा जाने व्यक्तिले नीति निर्माण तहबाट विषय सम्बोधन गर्ने हो, तर जनताको जायज मागमा हामी सम्बन्धित निकायलाई झक्झ्याउने छौँ,” उहाँले भन्नुभयो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

