रुपन्देही, ८ फागुन । नेपाल मगर संघ तिलोत्तमा नगरपालिका वडा नं. १ ले विविध कार्यक्रम गरी ४४ औं स्थापना दिवस मनाएको छ । शुभकामना आदान–प्रदान तथा विविध अतिरिक्त कार्यक्रम गरी संघले शुक्रबार स्थापना दिवस मनाएको हो ।
नेपाल मगर संघ वडा इकाई समिति वडा नंं १ तिलोत्तमाको आयोजनामा तिलोत्तको १ चपरहट्टीमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न विधाका प्रतियोगिता समेत गरिएको थियो ।
कार्यक्रममा कुर्ची रेस, घोडा रेस, श्रीमती बोकेर दौड्ने रेस लगायतका कार्यक्रम गरिएको थियो । यी खेलमा दर्शकहरुको उत्साहजनक सहभागिता थियो । यी खेलमा उत्कृष्ट हुने सहभागीलाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको नेपाल मगर युवा संघ तिलोत्तमाका अध्यक्ष प्रेम जीएले जानकारी दिनुभयो ।
तिलोत्तमा १ अन्तरगत ८ वटा टोल समितिले विभिन्न खानाका परिकार समेतको प्रबन्ध गरेका थिए । संघका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु कृष्ण सारु, लालबहादुर थापा, तिलबहादुर थापा, माया सारु लागयतले बोल्दै मगर समुदायको ऐतिहासिकता र समग्र अवस्थाको बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । नाचगान गरेर सहभागीहरुले रमाईलो गरेका थिए । कार्यक्रममा करिव ५ सयको सहभागिता रहेको थियो ।



