रुपन्देही, १५ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा रहेको अति पुरानो र चर्चित धार्मीक, पर्यटकीय स्थल श्री रामजानकी शिव मन्दिर (कुटी) मा श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ हुनेभएको छ ।
यही माघ १७ गतेदेखि २३ गतेसम्म संचालन हुने महापुराण तथा महाआरतीको तयारी तीब्र पारिएको छ । बिहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आयोजक रामजानकी शिव मन्दिर एवं यज्ञ सम्पादन मूल समितिले यसबारे जानकारी गराएको हो । समितिका अध्यक्ष खेमेन्द्र रानाले यो तेस्रो पटक गर्न लागिएको महापुराण तथा महाआरतीको सात दिनको अवधिमा विभिन्न धार्मिक कार्यक्रमहरु गरिने जानकारी दिनुभयो । यसअवधिमा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले श्रीमद्भागवत कथा बाचन गर्ने तथा राष्ट्रियस्तरका कलाकारबाट झाँकीसहित भजन कृतन गरिने उहाँले बताउनुभयो । अध्यक्ष रानाका अनुसार भक्तजनको इच्छा अनुसार दैनिक यज्ञमण्डप पुजा, ग्रहशान्ति, व्रतबन्ध, लघुरुद्री तुलादान, लक्ष्यवत्ती तथा सम्पूर्ण कर्मकाण्डीय कर्महरु गरिने छ । धार्मिक पर्यटनको केन्द्र भएकाले यसको यस स्थलको स्तरोन्नतिको लागि पनि महापुराण आयोजना गरिएको रानाले बताउनुभयो ।
कथावाचक पण्डीत चन्द्रकान्त काफ्लेले कुटी भनेर चिनिने यस रामजानकी मन्दिर स्थलमा १०८ पिपलका बुटा रहेको भन्दै यहाँ ध्यान गर्ने र जल चढाउन आउने भक्तजनको लागि पनि महापुराण तथा महाआरतीको कार्यक्रमले थप सहज गराउने उल्लेख गर्नुभयो । आयोजक समितिका पूर्व अध्यक्ष गणेश शर्माले मन्दिरको ऐतिहासिक गरिमाबारे चर्चा गर्नुभयो । महापुराण संचालनबाट प्राप्त हुने आर्थिक रकमले यस स्थानमा दिब्यधाम तथा पूर्वाधार निर्माणको काम गरिने उहाँले उल्लेख गर्नुभयो ।
समितिका सचिव धिरज पुन मगरले महापुराण अवधिभर हुने धार्मिक गतिविधिमा सहभागी हुन तथा दानवीर दाताहरुलाई दैनिक अवलोकन समेत गरिदिनुहुन आग्रह गर्नुभयो । ऐतिहासिक तथा धार्मिक पर्यटनको केन्द्र बनेको यस मन्दिर स्थलमा सबैले आएर पुण्यलाभ गरिदिन उहाँको आग्रह छ । मन्दिर परिसरमा सरसफाई, साजसज्जा तथा यहाँ रहेको पाँचकुने पोखरीमा पानी भरेर आरतीको लागि तयारीका काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।


