रुपन्देही, ११ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा हुन लागेको ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ को तयारी तीब्र पारिएको छ । यही मसिंर १५ गतेदेखि पुस १ गतेसम्म चल्ने महोत्सवको तयारी तीब्र पारिएको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयो ।
महोत्सवमा दर्शकलाई आकर्षित गर्न पहिलेका भन्दा भिन्न संरचनाहरु निर्माण गरिएको जीएमले बताउनुभयो । उहाँका अनुसार महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिज, जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिने छ । यी संरचना बनाउने काम जारी रहेको जनाइएको छ ।
महोत्सवको लागि करिब ३ सय स्टलहरु सहभागी गराइने स्टल दर्ता उपसमिति संयोजक विवस थापाले बताउनुभयो । त्यस्तै महोत्सवमा २० वटा स्तरीय होटलका स्टलहरु रहने होटल अनुगमन तथा खाध्यान्न ब्यवस्थापन संयोजक तथा संगठनका उपाध्यक्ष भूपति न्यौपानेले उल्लेख गर्नुभयो ।
महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराईने महिला उद्यम उपसमिति संयोजक अचर्ना केसीले बताउनुभयो ।
त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा स्थानीय तथा राष्ट्रिय तहमा ख्यातीप्राप्त कलाकारबाट मनोरन्जन प्रादान गरिने साँस्कृतक कार्यक्रम संयोजक युवराज पराजुलीले जानकारी दिनुभयो । टिकटबाट उठेको रकमबाट केही प्रतिशत बालआश्रमहरुलाई सहयोग रकम उपलब्ध गराइने आर्थिक संयोजक सन्जु थापाको भनाई छ ।


