अर्घाखाँची ९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेलाको अर्घाखाँचीको सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध सदस्यहरू आन्दोलनको नाममा भावनामा बग्न जरुरी नरहेको बताउँदै सरकार उपभोक्ताको हकहित सुरक्षित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले कुनै व्यक्ति विशेषको चाहना र आवरणमा उद्देलित नबन्न र समस्याको चुरो समातेर समाधान निकाल्ने प्रयास भइरहेको बताए । जनताको हित रक्षाका लागि सरकार जिम्मेवार रहेको उनले बताए ।
केही व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा पनि मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता महासंघले उठाएका मागहरूको बारेमा वार्ताबाट निकास निकाल्न निरन्तर छलफल गर्दै आएको र सरकारले वार्ताबाट समाधान खोजिरहेको समेत जानकारी दिइएको छ ।
प्रदेश सरकारले वन क्षेत्रलाई प्रमुख राजस्व संकलनको स्रोतको रूपमा लिँदै आएको छ तर, विभिन्न समयमा भएका आन्दोलनहरूले राजस्व संकलन र परिचालनको काममा असर पार्दै आएका उनको भनाई छ ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा परिषद्को उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, मन्त्रालयका जिम्मेवार प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
