रुकुमपूर्व, ७ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको जनतासँग माओवादी– मध्यपहाडी लोकमार्ग जनजागरण अभियान झरीका बीच रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, रुकुमकोटमा पुगेको छ । उक्त अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् ।

    घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनःस्थापनाको माग गरेका थिए। त्यस्तै, विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरिएको थियो। सहभागीहरूको माग सुन्दै अध्यक्ष प्रचण्डले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्य जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

    उनले माओवादी पार्टी सरकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको, र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुन मै व्यवस्था गरिएको जानकारी दिनुभयो। उनले शान्ति प्रक्रिया टुंग्याउन दुईवटा समिति गठन भइसकेको जानकारी दिए । पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोहि अनुसार ति समितिले काम गर्ने उनले बताए । सरकारमा रहँदा माओवादी केन्द्रले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरीब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको अध्यक्ष प्रचण्डले स्मरण गराउदै उनले आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको उल्लेख गरे ।

    Share.
    Leave A Reply