मोनिषा बस्नेत
    बुटवल, २७ बैशाख ।
    लुम्बिनीमा यसपटक तीन दिवसीय कार्यक्रम गरेर २५६९ औं बुद्धजयन्ती मनाईने भएको छ । यसको तयारीबारे शनिबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
    कोषले जानकारी गराए अनुसार वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइने कोषले जानकारी गराएको छ । वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० बजे शोभायात्रा हुनेछ ।
    पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले बुद्धजयन्ती भव्य बनाउन सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताए । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित चीन, भारत, पाकिस्तान, श्रीलंका लगायतका देशका राजदुत समेत कार्यक्रममा सहभागी हुने उल्लेख गरे ।
    मूल समारोह व्यवस्थापनका लागि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार प्रसार समिति, सुरक्षा व्यवस्था समिति, शोभायात्रा तथा भोजन व्यवस्थापन समिति लगायतका उपसमितिहरू गठन गरिएको छ ।
    बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुने प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले बताए ।
    विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीयसरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने भट्टराईले जानकारी दिए ।
    बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम, तिलौराकोट दरबार, कुदान, देवदह लगायतका क्षेत्रमा बुद्धजयन्तीका अवसरमा सरसफाई, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, शान्ति ध्यान र प्रशुति उत्सवजस्ता विविध कार्यक्रम समेत आयोजना गरिएको छ । एक करोड रकम खर्चेर बुद्धजयन्ती मनाउन लागिएको कोषले जनाएको छ ।

    Share.
    Leave A Reply