मोनिषा बस्नेत
रुपन्देही, २५ बैशाख । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले हालै प्रदान गरेका पुरस्कारका बारेमा प्रेस सेन्टर नेपालको धारणा सार्वजनिक गरेको छ । प्रेस सेन्टरले सत्ताको दुरुपयोग गर्दैै दलीय भागण्डाको रुपमा पुरस्कार वितरण गरिएको भन्दै विरोध गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार सत्तारूढ दलको दलीय भागबण्डामा छनोट गरिएको ठहर सेन्टरले गरेको छ ।
सेन्टरका महासचिव मनोज घर्तीले एक विज्ञप्ति प्रशाशित गर्दै बिरोध जनाएका हुन् । देशभरका स्वतन्त्र, सक्रिय र श्रमजीवी पत्रकारलाई बञ्चित गरेर दलीय भागबण्डामा गरिएको पुरस्कार छनोटको प्रेस सेन्टर नेपाल घोर निन्दा गर्दछ– विज्ञप्तिमा भनिएको छ । सरकारको यस प्रकारको कदमले हजारौं पत्रकारलाई निराश बनाउनुको साथै पत्रकारितामा उनीहरुका योगदानको अवमूल्यन गरेको भन्दै यसले पत्रकारिता पुरस्कारको गरिमालाई कमजोर बनाएको ठहर गरिएको छ ।
संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय सूचना आयोगले हालै प्रदान गरेको विभिन्न पुरस्कारको छनोटमा स्पष्ट दलीय छायाँ परेको भन्दै संवैधानिक निकायमा दलीय छायाँ पर्नु गम्भीर भइको भनिएको छ । संवैधानिक निकाय सूचना आयोगले आफ्नो स्वतन्त्रता गुमाएर दलीय छायाँमा गरेको निर्णय भन्दै प्रेस सेन्टर नेपाल घोर निन्दा गरेको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले गरेको यस प्रकारको दलीय भागबण्डाको सामूहिक प्रतिवाद गर्न प्रेससँग सम्बन्धित सम्पूर्ण सरोकारवाला संघ–संस्थासँग सहकार्यका लागि प्रेस सेन्टर नेपालले आग्रह गरेको छ । आगामी दिनमा पुरस्कार छनोट गर्दा दलीय भागबण्डाबाट मुक्त भइ नेपालको संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशीतालाई आत्मसात् गरेर विभिन्न जातजाति, भाषा र भूगोलका सक्रिय तथा श्रमजीवी पत्रकारहरूलाई पुरस्कार दिने मापदण्ड बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत सबै पत्रकारलाई प्रेस सेन्टर नेपालले विज्ञप्तिमार्फत बधाई पनि ज्ञापन गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
