मोनिषा बस्नेत
रुपन्देही, २४ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अब सडकआश्रित मानव रहने छैनन् । यो नगरपालिका मंगलबार ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।
मानव सेवा आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा भएको हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
मंगलबार, प्रदेश सरकारकार मन्त्रीहरू, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।
घोषणाका क्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरेका थिए । मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्ष अघि देखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.