काठमाडौँ, वैशाख २९ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ।
समितिका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यका अनुसार बचतकर्तालाई आवश्यक माग दाबी तथा विवरण बुझाउन आग्रह गरिएको छ ।
समितिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा सरकारी वा सार्वजनिक निकायसँग सम्बन्धित काम सञ्चालन गर्ने जनाएको छ ।
साथै बचतकर्ताको चाप र प्रक्रिया व्यवस्थापनलाई प्रभावकारी बनाउन समय तालिका तोकी सोही अनुसारको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
त्यस्तै, सेवाग्राहीको गुनासो व्यवस्थापन, स्टेटमेन्ट उपलब्ध गराउने लगायतका सेवा भने दिउँसो ३ बजेपछि मात्रै सञ्चालन गरिने जानकारी समितिले दिइएको छ।
सेवाप्रवाहमा गरिएको नयाँ समय व्यवस्थापनबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ। समस्याग्रस्त सहकारी सम्पत्ति व्यवस्थापन समितिले विभिन्न कामका लागि सम्पर्क गर्ने जिम्मेवारीसमेत स्पष्ट पारेको छ।
जस अनुसार स्टेटमेन्ट माग, निवेदन दर्ता, गुनासो सुनुवाइ, बचत फिर्ता सिफारिस, ऋण तथा धितोसम्बन्धी प्रक्रिया, कानुनी मुद्दा तथा सम्पत्ति रोक्का–फुकुवासम्मका कामका लागि सम्बन्धित शाखा प्रमुख, सदस्य सचिव तथा समितिका पदाधिकारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ।
समितिले बचतकर्तालाई आवश्यक कागजातसहित समयमै कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै प्रक्रिया व्यवस्थित र पारदर्शी बनाइने प्रतिबद्धता जनाएको छ ।

