(प्रोफाइल)
भुवन कार्की
बुटवल, ७ फागुन । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदकालागि रुपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार हुनुहुँन्छ सुनील लम्साल । स्याङ्जाको विरुवामा वि.सं. २०४७ सालमा जन्मनुभएका लम्साल हाल रुपन्देहीको भलवारी निवासी हुनुहुन्छ । पार्टीको महामन्त्री समेत रहनुभका लम्सााल ईन्जिनीयर पनि हुनुहुन्छ ।
लुम्बिनी ईन्जिनियरिङ कलेज तिलोत्तमामा स्ववियु सभापति समेत बन्नुभएका लम्सालले सिभिल इन्जिनियरिङ (स्नातक), स्ट्रक्चरल इन्जिनियरिङ (स्नातकोत्तर) तहसम्मको अध्ययन गर्नुभएको छ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पूर्वाधार सल्लाहकार समेत रहेर काम गर्नुभएका ३५ बर्षीय सुनीलले रुपन्देही क्षेत्र नं. १ मा चुनावी गतिविधिहरु संचालन गरिरहनुभएको छ ।
चुनावी प्रतिबद्धताहरू :
१, कम्तीमा १५ मिनेटभित्र आपतकालीन स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था ।
२. कृषि नीति प्रभावकारी कार्यान्वयन तथा सिँचाइ व्यवस्थापनमा सुधार
३, नदी कटान रोकथाम ।
४, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोरका रूपमा विस्तार ।
५, थारू, मगर र रोहिणी संस्कृतिलाई अर्थतन्त्रसँग जोड्ने कार्यक्रम ।
६, देवदहलाई लुम्बिनीसँग जोड्ने पर्यटन मार्ग विकास, युनेस्को विश्व सम्पदा सूचीमा समावेश गराउन पहल ।
७, सरकारी तथा सामुदायिक विद्यालयको विशेष प्राथमिकतासहित विकास, सीपमूलक शिक्षामा जोड ।
८, उपलब्ध खेल मैदानहरूको व्यवस्थित विकास ।
९, रोजगारी सिर्जनाका लागि रोजगार तथा स्वरोजगार कार्यक्रम सञ्चालन ।
१०, मुस्लिम बस्ती व्यवस्थापनका लागि ‘स्मार्ट कोलोनी’ योजना कार्यान्वयन ।
११, भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन विशेष पहल ।
१२, विपद् व्यवस्थापन सुधारका लागि नयाँ योजना ।
१३, क्षेत्रको मास्टर प्लान तयार गरी दिगो विकासको रोडम्याप निर्माण ।
उम्मेदवार लम्साल भाषण, नाराबाजी र भावनात्मक राजनीति भन्दा समस्या पहिचान–तात्कालिक समाधान–दीर्घकालीन प्रणाली सुधारमा विश्वास गर्ने कामकाजी नेताको रुपमा छवि बनाउनुभएको छ । संरचनात्मक इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला पूर्वाधार परियोजनामा काम गरिसक्नुभएका लम्साल काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाहसँग पूर्वाधार सल्लाहकारका रूपमा काम गर्दा नीति निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रियामा प्रत्यक्ष संलग्न रहुनभएको छ ।
काठमाडौँ महानगरमा काम गर्दा उहाँले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई लोकप्रियता कमाउने मुद्दा नभई राज्य सञ्चालनको आधारभूत कर्तव्यका रूपमा लिएर काम गरेको बताउनुहुन्छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक, वातावरणीय र मानव अधिकारसँग सन्तुलन मिलाएर दीर्घकालीन समाधान खोज्नुपर्ने विषय ठानेर उहाँ हाल उहाँ वेष्ट म्यानेजमेन्टमा पीचएडी अध्ययनरत हुनुहुन्छ ।
सानो उमेरमै २०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका लम्साल लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै जेन्जी आन्दोलनको ऊर्जा संस्थागत गर्ने धारणा राख्नुहुन्छ । “देश राज्यले होइन, नागरिकले बनाउँछन्।” भन्ने मान्यता उहाँको छ ।
विद्यार्थी जीवनदेखि नै नेतृत्वमा सक्रिय लम्साल लुम्बिनी इन्जिनियरिङ कलेजको स्ववियु सभापति निर्वाचित भई विद्यार्थी हकहित, संस्थागत अनुशासन र पारदर्शी निर्णय प्रक्रियाको अभ्यास गरेका व्यक्ति हुनुहुन्छ । यही अनुभवले उहाँलाई संगठन, टिमवर्क र विकेन्द्रीकृत काम गर्ने संस्कृतिमा दृढ बनाएको छ ।
उहाँको राजनीतिक शैली निडर, हक्की तर मर्यादित छ । उहाँ कसैलाई गाली गरेर होइन, नियम, तथ्य र नैतिक धरातलबाट काम गर्नुपर्छ भनी सुझाउनुहुन्छ । लम्साल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध हुनुहुन्छ । सहकार्य र सहअस्तित्वमा आधारित समाज निर्माण, मानव अधिकारको संरक्षण र वातावरणीय सन्तुलनसहितको विकास उहाँको राजनीतिक आधार हो । उँहा हालको प्रणालीभित्रै रहेर क्षेत्रगत विज्ञता, स्थानीय ज्ञान र नागरिक सहभागितालाई समेट्दै सुधार सम्भव छ भन्ने मान्यता राख्नुहुन्छ ।
खेलकुदप्रति विशेष लगाव राख्ने लम्साल अनुशासन, प्रतिस्पर्धा र टिम स्पिरिटलाई जीवन दर्शन मान्नुहुन्छ । यही सोचका साथ उहाँ रुपन्देही–१ बाट काम, सुशासन र नैतिक राजनीतिलाई राष्ट्रिय बहसमा लैजाने संकल्पसहित निर्वाचनमा होमिनुभएको छ ।
निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताका जायज मुद्दामा सधै जनपक्षिय हिसावले काम गरिहरने उहाँको दृढ अठोट छ । देशमा बदलिंदो राजनीतिक परिस्थितिलाई गहिरो सुझबुझका साथ समाल्न पनि रास्वपाका उम्मेदवारलाई घण्टी चिन्हमा मतदान गरेर बिजयी गराउनुपर्ने उहाँको तर्क छ ।


