भुवन कार्की
    रुपन्देही, २ जेठ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका खरको छानोमुक्त नगर हुनेभएको छ । नगरपालिकाले ‘खरको छानोमुक्त कार्यक्रम’ संचालन गरेर नगरलाई खरको छानोमुक्त बनाउने अभियान जारी राखेको छ । अबको केही बर्षभित्रै नगरपालिका खरको छानोमुक्त नगर बन्ने छ ।
    यसअघि नगर कार्यपालिकाको ८० औं बैठकले ‘खरको छानो मुक्त कार्यक्रम’ संचालनको लागि कार्यदल गठन गरेर काम अघि बढाएको थियो । जनप्रतिनिधिको अघिल्लो कार्यकालबाट शुरु भएको यो कार्यक्रमलाई नरपालिकाले निरन्तरता दिएको छ । यो कार्यक्रम विषेश गरी आर्थिक अभावका कारण खरको छानोमुनि बस्न बाध्य बिपन्न परिवारहरुलाई लक्षित गरी संचालन गरिएको हो ।
    राष्ट्रिय जनगणना २०११ को आँकडा अनुसार तिलोत्तमा नगरपालिकाका कुल २१९७५ घरधुरीमध्ये १५२७ खरको छानोसहितका घर थिए । तिलोत्तमा नगरपालिकाका अधिकृत गोरखनाथ खनालका अनुसार हालसम्म आईपुग्दा जम्मा ४२ घरधुरी मात्र खरको छानोका छन् । ‘खरको छानो मुक्त कार्यक्रम’ संचालन गरेपछि खरका छानो भएका घरहरु घट्दै गएको खनालले बताए । खनालले भने, ‘सुुरुवातमा संघीय सरकारको बजेटबाट यो कार्यक्रम संचालन गरिएको थियो तर अहिले संघीय सरकारको बजेट रोकिएकाले नगरपालिकाको आन्तरिक स्रोतबाट यो कार्यक्रमलाई निरन्तरता दिएका छौं ।’ चालुु आर्थिक वर्षमा २० लाख रकम यस कार्यक्रमको लागि छुट्याईएको खनालले जानकारी दिए ।
    ‘खरको छानो मुक्त कार्यक्रम’ अन्तरगत खरको छानोमुनि बस्ने नगरभित्रका कुनै पनि बासिन्दाले आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्नेछन् र वडा कार्यालयको सिफारिसमा नगरपालिकाले उनीहरुलाई निःशुल्क जस्तापाता वितरण गर्ने गर्दछ । तिलोत्तमा नगरपालिकाका १०, ११, १२, १३, १४ र १७ नम्बर वडाका बासिन्दालाई बढी लक्षित गरेर कार्यक्रम संचालन गरिएको छ, जहाँ धेरैजसो निम्न बर्गीय मानिसको बसाई छ ।
    नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीको संयोजकत्वमा गठित कार्यदलले खरको छानो भएका घरहरुको लगत संकलन तथा सिफारिस प्रक्रिया अघि बढाउने गरेको छ । संयोजक चौधरीका अनुसार अबको केही बर्षमै तिलोत्तमा नगरपालिका खरको छानोमुक्त नगरपालिका बन्ने छ । नगरपालिकाको आँकडा अनुसार अहिले वडा नं. ११ मा २५, १४ मा १४ र १६ मा २ र ८ मा १ गरी कुल ४२ घरधुरी खरको छनोका रहेका छन् ।
    नगरबासीको जीवनस्तर सुधार गर्न र आगलागी जस्ता जोखिमहरु न्यूनीकरण गर्ने लक्ष्यसहित संचालन गरिएको यो कार्यक्रमले अपेक्षा अनुसार नै गति लिएको नगरप्रमुख रामकृण खाँण बताउछन् । यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने उनको भनाई छ ।

     

    Share.
    Leave A Reply