नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअथृमन्त्री पौडेलले बजेट निर्माणका क्रममा आफ्नो पार्टीसँग छलफल नगरेकोमा सांकेतिक रूपमा असन्तुष्टि जनाए ।
उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा कृषिमा लगानी दशक लगायतका विषय राम्रा भएपनि कृषिको बजेट घटेको भन्दै त्यसमा अर्थमन्त्रीले ध्यान दिने विश्वास व्यक्त गरे ।
छलफलका क्रममा नेता पौडेलले बजेट निर्माणमा अर्थमन्त्रीले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहनुलाई सकारात्मक रूपमा लिएको बताए ।
‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला’, पौडेलले बजेटलाई सन्तुलित भन्दै अघि भने, ‘चर्चा र आशंकाकै बिच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’