एन्टोजले बैशाखमा फोटो प्रदर्शनी तथा प्रतियोगिता गर्ने

974

रूपन्देही, चैत २१ गते । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) रुपन्देही शाखाले नयाँ वर्षको अवसर पारेर आगामी बैशाख २८, २९ र ३० गते बुटवलमा प्रदेश स्तरीय फोटो प्रदर्शनी तथा प्रतियोगिता गर्नेभएको छ ।
बुधबार बुटवलमा बसेको एन्टोजको बैठकले नयाँ वर्ष २०७५ को अवसरमा फोटो प्रदर्शनीसंगै उत्कृष्ट ८ वटा फोटालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । तीन दिनसम्म चल्ने फोटो प्रदर्शनीमा प्रदेश नं. ५ का विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय ठाउँका फोटाहरु प्रदर्शनी गरिने छन् । प्रदर्शनीमा उत्कृष्ट ८ वटा फोटाका फोटोग्राफरलाई पुरस्कृत गरिने भएको हो ।
प्रदर्शनीमा प्रथम हुने फोटोलाई रु. १० हजार, द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने छ भने अन्य ५ वटा फोटालाई प्रति फोटो रु. १ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने एन्टोजका सचिव तेजन्ेद्र केसीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा बसेको बैठकले फोटो प्रदर्शनीको लागि मूल समिति तथा विभिन्न तयारी समितिहरु गठन गरेको छ । त्यस्तै फोटो छनौट उपसमिति समेत निर्माण गरिएको संघले जनाएको छ । बैठकमा संघका महिला उपाध्यक्ष मिना ढकाल, कोषाध्यक्ष मनिष पन्त, सहसचिव कपिल ज्ञवाली तथा सदस्यहरुले आ–आफ्ना धारणा राख्दै फोटो प्रदर्शनीलाई ब्यवस्थित बनाउ सामूहिक पहल गर्नुपर्नेमा जोड दिनुभयो । फोटो प्रदर्शनी तथा प्रतियोगितामा भाग लिन सचिव केसीले प्रदेश नं. ५ का पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । प्रदेश नं. ५ मा पर्यटनको विकासको लागि प्रदर्शनीले सहयोग पु¥याउन अपेक्षा आयोजकले लिएका छन् ।