वन विहारमा भ्यू टावर निर्माण गरिंदै

550

रूपन्देही, चैत्र १५ । रूपन्देहीको शंकरनगरस्थित वन विहार तथा अनुसन्धान केन्द्रमा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको विहीबार बिहान शिलान्यास गरिएको छ ।
१३ करोड ५८ लाख रुपैयाँको लागतमा ४ बर्षमा निर्माण सम्पन्न गरिने भ्यू टावरको नेपाली काँग्रेस प्रदेश नम्वर ५ संसदीय दलका नेता बलदेव शर्मा पोख्रेलले शिलान्यास गर्नुभएको हो । तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत लागतमा भ्यू टावर निर्माण हुने छ । भ्यू टावरको शिलान्यास गर्दै पोख्रेलले तिलोत्तमाको बिकासका लागि भ्यू टावर महत्वपुर्ण हुने कुरामा जोड दिंदै यस्ता बिकासका काममा अठोटका साथ अघि बढ्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकालाई स्वच्छ र हराभरा बनाउन घरघरको फोहोर व्यवस्थापनदेखि हरीयालीलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकालाई लगानीमैत्री नगरपालिका बनाउने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले भ्युटावरसंगै होटल, पुस्तकालय, प्रशासनिक भवन र अन्य आवश्यक संरचना बनाउने र त्यसका लागि बजेट अभाव हुन नदिने बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख जागेश्वरी चौधरी, प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका नेता बेलप्रसाद शर्मा, केन्द्रका अध्यक्ष बाबुराम अर्याल, बडाअध्यक्ष दधिराम गौतम, केन्द्रका सचिव खिमलाल पाण्डे लगायतले बोल्नुभएको थियो । केही बर्षदेखि रुपन्देही जिल्लामा पर्यटकीय क्षेत्रका रुपमा स्थापित हँुदै गएको बन बाटिकामा गत बर्ष सवा १ लाख पर्यटक आएका थिए भने यो बर्ष करिव २ लाख पुग्ने अनुमान गरिएको छ । केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थल लगायत बनाइएको छ ।