मृतकका परिवारलाई बिमा रकम प्रदान

346

मिना ढकाल
बुटवल, १४ चैत्र । बिमा रकम उपलब्ध गराउन बिमा कम्पनीहरुले ढिलाई गर्ने लगाएतका गुनासाहरु आईरहेका बेला बुटवलमा सडक दुर्घटनामा परि मृत्यु भएका ब्यक्तिका परिवारलाई तत्काल बिमा रकम उपलब्ध गराइएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका शेयर सदस्य भगदत्त पौडेलका परिवारलाई प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ तामनगरले बिमा रकम हस्तान्तरण गरेको हो ।
सहकारीका सदस्य स्व. पौडेलका परिवारलाई किरिया बसेकै अवस्थामा १२ औं दिनमा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको उक्त सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष सुर्यबहादुर रानाले स्व. पौडेलको सम्झनामा एक शोक सभा कार्यक्रमको आयोजना गरि स्व. पौडेलका धर्मपत्नी मिना पौडेललाई उक्त चेक हस्तान्तरण गरेका थिए ।
मृतक पौडेलका श्रीमती, दुई छोरा र एक छोरी रहेको र सहकारीले प्रत्येक सदस्यको १ लाख रुपैयाँ बराबरको नेको ईन्सोरन्समा बिमा गराइएको सहकारीका सचिव देवराज पौडेलले बताए । ईन्सोरेन्स कम्पनीको नियम अनुसार प्रकृया पुराएर रकम निकासा हुन समयलाग्ने भएकाले सहकारी संस्थाको तर्फबाट तत्काल उपलब्ध गराइएको सचिव पौडेलले बताए । स्व. पौडेलको गत चैत्र १ गते रुपन्देहीको सैनामैनामा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्करका कारण निधन भएको थियो ।