एपीएफ्लाई हराउँदै सुनौलो संगम सेमीफाइनलमा

520

रूपन्देही, चैत १२ । यहाँ जारी तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा एपीएफ् क्लवलाई हराउँदै सुनौलो संगम बिजयी भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा सुनौलो संगमले जीत हात पारेको हो ।
दुबै टिमबाट भएको २÷२ गोलपछि पेनाल्टी सुट आउटमा सुनौलोले ३÷२ को गोल अन्तरले जीत हात पारेको हो । पहिलो हाफ्को ४४ औं मिनेटमा एपीएफ्का युवराज खड्काले १ गोल गरे भने दोस्रो हाफ्को २३ औं मिनेटमा खड्काले अर्को गोल गरे । दोस्रो हाफ्को ६ औं मिनेटमा सुनौलोका अमृत गुरुङले पहिलो गोल गरेभने दोस्रो गोल आशिस गुरुङले २९ औं मिनेटमा गरे । यो जीतसंगै सुनौलो संगम सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच सुनौलोका नितिन थापा घोषित भए ।
प्रतियोगिता अन्तरगत बुधबारको खेल थ्रि स्टार ललितपुर र हिमालयन एसपी मलेशिया बीच हुने एकेडेमीका विकासजंग बस्नेतले जानकारी दिए । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५को आयोजनामा भएको प्रतियोगितामा प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको छ ।