क्रान्तिपुत्र मन्त्री केसीको राजनीतिक यात्रा

656

भुवन कार्की
बुटवल, ७ फागुन । ब्यक्तिगत स्वतन्त्रता मानिसको सबैभन्दा प्यारो चिज हो । खुला आकाशमुनि भयरहित वातावरणमा मानिसले जीवन निर्वाहका औजार चलाउन पाउनु उसको स्वतन्त्रता हो ।
तर कैयौं योद्धाहरु आफ्नो व्यक्तिगत स्वतन्त्रता त्यागेर देश र जनताको मुक्तिको लागि जीवन सर्मपण गरेका हुन्छन् । त्यस्तै एक योद्धाको नाम हो कुलप्रसाद केसी ‘सोनाम’ । दशवर्षे भूमिगत काल र दुई वर्ष कठोर जेल जीवन बिताउनुभएका केसी क्रान्तिभूमि रोल्पाको ज्युवाङमा वि.सं. २०२७ साल फागुन २० गते जन्मनुभएको हो । साविक कोटगाउँ गाविस–२, हाल रोल्पा नगरपालिका–६ निवासी कुलप्रसाद लिवाङ हाईस्कूलमा अध्ययन गर्दै गर्दा वि.सं. २०४४ सालमा विद्यार्थी संगठनहरुमा संलग्न भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभयो । वि.सं. २०४८÷०४९ सालमा मा शिक्षण पेशामा आवद्ध हुनुभएका केसीले वि.सं. २०५० साल जेठमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबिरुद्ध कोलो झण्डा देखाउँदा सार्वजनिक मुद्दा खेप्नुभयो । सानैदेखि क्रान्तिकारी बिचारले प्रेरित केसी तत्कालिन माओवादीले जनयुद्धको शुरुवात गरेसंगै वि.सं. २०५२ साल फागुन १ गतेदेखि भूमिगत हुँनुभयो । जनयुद्ध थालेपछि रोल्पा जिल्लामा पार्टीको विभिन्न जिम्मेवारीमा रहेर क्रान्ति गर्नुभएका केसीले ०५५ सालको विस्तारित बैठकपछि दाङ, सल्यान र प्युठान जिल्लाको सेक्रेटरीको भूमिकामा काम गर्नुभयो । ०५६ सालमा तत्कालिन सैन्यमोर्चामा सहभागी भई कर्णाली ब्यूरो सदस्यको रुपमा प्रवेश गरी कर्णाली क्षेत्रको कामाण्डर समेत हुँनुभयो ।
०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केसी केन्द्रीय समिति सदस्य चुनिनुभयो । त्यसपछि बाग्मती–नारायणी ब्यूरोको इन्चार्जको भूमिकामा काम गर्नुभएका उहाँ ०६० सालमा पोलिटब्यूरो सदस्य बन्नुभयो । भूमिगत राजनीतिकै क्रममा ०६० साल जेठ २० गते भारतको पटनाबाट ११ जना अन्य सहकर्मीसंगै प्रहरीको गिरफ्तारमा पर्नुभयो ।
नेपालमा भएको शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्र स्थापना पछि वि.सं. २०६३ साल श्रावणमा केसी जेलमुक्त हुँनुभयो । त्यसपछि पार्टीको सम्पर्कमा पुगेपछि कामीडांडा बैठकबाट केसी तेस्रो डिभिजन कमिशार चुनिनुभयो । सेना समायोजनका लगि क्यान्टोनमेन्टमा रहेपछि उहाँ पहिलो योङ कम्युनिष्ट लिग (वाईसीएल) को इन्चार्ज बन्नुभयो ।
वाईसीएलको जिम्मेवारीपछि पुनः नारायणी, कर्णाली र सेती महाकाली इन्चार्ज बन्नुभएका केसी ०६९ सालमा पार्टीको स्थायी कमिटि सदस्य चुनिनुभयो । पार्टी विभाजनको बेला केही समय मोहन बैद्य नेतृत्वको पार्टीमा काम गर्नुभएका केसी पुन पार्टी एकतापछि ०७२ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारीसहित हाल प्रदेश नं. ५ को मन्त्री पद सम्हाल्न पुग्नुभएको छ । प्रदेश नं. ५ को हाल गठीत तीन सदस्यीय मन्त्रीमण्डलमा उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएर सपथ समेत लिईसक्नुभएको छ ।
प्रदेश नं. ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा हाल गाडीमा नेपालको झण्डा फहराउँदै हिड्ने केसीलाई जनमुक्ति अभियानको केही अंश पुरा भएको अनुभूत छ ।
केसीले भन्नुभयो, ‘दशवर्षे जनयुद्धले हामी यहाँसम्म आएका हौं, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, लोकतन्त्र हुँदै गणतन्त्रसम्म मुलुक आएको छ तर क्रान्ति अझै पुरा भएको छैन, रुप बलिएको छ ।’ मुलुकको बदलिंदो परिस्थितिसंगै क्रान्तिको रुप परिवर्तन गर्नुपर्ने धारणा राख्ने केसीले अब नयाँ संविधान र संघीयताको कार्यान्वयसंगै देशले आर्थिक विकासमा समेत फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
जनयुद्धका कहाली लाग्दा दिनको स्मरण गर्ने केसीले राजनीतिक क्रान्तिको केही अंश पुरा भएकोले अब आर्थिक विकास गरी समृद्ध मुलुक बनाउन सबै एकजुट भएर लाग्नुपर्ने तर्क गर्नुभयो ।