ढाई करोडको लागनीमा वाटरपार्क निर्माण

1660

भुवन कार्की
रूपन्देही, फागुन ६ । रुपन्देहीको तिलोत्तमा–९, मंगलापुरमा काठमाडौंपछिको पहिलो वाटर पार्क सञ्चालनमा आएको छ ।
यस क्षेत्रका उद्योगी ब्यापारीहरुले साढे दुई करोड खर्च गरेर वाटर पार्क निर्माण गरेका हुन् । यो पूर्ण क्षमतामा आउन भने अझै केही समय लाग्ने छ । आईतबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको हो ।
काठमाडौं बाहिर पहिलो वाटरपार्क भएको लगानीकर्ताहरुको दाबी छ । औद्योगिक र व्यापारिक ‘हब’ बन्दै गएको रुपन्देहीमा जलपर्यटन व्यवसायमा यो पहिलो पटक ठूलो लगानी भएको हो । सात वर्ष कोरियामा बस्दा ४ वर्ष वाटर पार्कमै काम गरेर अनुभव बटुलेका यहाँका व्यवासायी कृष्ण खनालको ‘अवधारणा’ अनुसार लुम्बिनी हेल्थ वाटर किङ्डम प्रा.लि. काम्पनी मार्फत तीन वर्षअघिबाट वाटर पार्कको निर्माण कार्य शुरु गरिएको थियो । प्रालिमा आवद्ध ६० जना व्यवसायीले साढे दुई करोड रुपैयाँ लगानीमा ४४ कठ्ठा क्षेत्रफलमा यो वाटर पार्क निर्माण गरेका हुन् । यसका निर्माण कार्य अझै पनि जारी रहेकोले यसको लगानी दोब्बर पुग्ने प्रालिका अध्यक्ष गोपालबहादुर पोखरेलले उल्लेख गर्नुभयो । वाटर पार्क यस क्षेत्रमै नौलो हो ।
जलपर्यटनका हिसावले यस क्षेत्रमा नयाँपन दिइएको सञ्चालक माधव नेपालले चर्चा गर्नुभयो । बुटवल र भैरहवाको मध्ये भागमा पर्ने मंगलापुरमा सञ्चालन गरिएको वाटर पार्कमा एकै साथ सयौं मानिसहरु पौडिन सक्नेछन् । यहाँ स्पा, स्टीम बाथ लगायतका सुविधा पनि थपिने छ भने साहकारी भोजनको लागि रेष्टुरेण्ट पनि सञ्चालन गरिनेछ ।
वाटर पार्कमा प्रदेश शुल्क प्रतिब्यक्ति ७ सय तोकिएको छ । नेपालका अनुसार ठूलो समूहमा आउनेलाई विषेश छुटको पनि व्यवस्था हुनेछ । प्रवेश पाएका ग्राहकले दिनभर पौडी खेल्न पाउने छन् । वालवालिकाको लागि पनि छुट्टै प्यानल बनाइएको वाटर पार्कमा आकर्षक र कलात्मक सजावट गरिएको छ । पौडीनको लागि तीन वटा छुट्टाछुट्टै पोखरी निर्माण गरिएको छ ।