रुपन्देहीमा दुई ठूला फुटवल प्रतियोगिता हुँदै

1390

 

रूपन्देही, फागुन ४ गते । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ ले तेस्रो मदन भण्डारी गोल्डकप फुटवल प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र ७ गदेसम्म बुटवलमा गर्नेभएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर एकेडेमीले काठमाडौं उपत्यकाबाहिरको सबभन्दा ठूलो पुरस्कार राशी दावी गरिएको फुटवल प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । एकेडेमीका प्रदेश नं. ५ अध्यक्ष नरबहादुर घर्तीले फागुन २८ गते राष्ट्रिपतिबाट खेलको उद्घाटन गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिए ।
घर्तीका अनुसार यो प्रतियोगितामा प्रथम पुरस्कारको राशी १५ लाख र दोस्रो हुनेले टिमले ७ लाख ५० हजार पाउने छ । त्यस्तै सेमीफाइनल पुगेका टिमलाई १ लाखका दरले दिइने र प्रति खेलाडी ३ लाखका दरले बिमा गरिदिने व्यवस्था मिलाइएको छ ।
यो प्रतियोगितामा नेपालका विभिन्न १२ टिमले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।
उता रुपन्देही जिल्ला फुटवल संघले आगामी फागुन २४ गतेदेखि चैत्र ३ गतेसम्म २० औं तिलोत्तमा गोल्ड कप नक आउट फुटवल प्रतियोगिता २०७४ गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी संघले पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता गर्ने जनाएको छ ।
रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसीले दिएको जानकारी अनुसार यो प्रतियोगिता बुटवलस्थित देविनगरको एन्फा टेक्निकल सेन्टरमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो पुरस्कार ४ लाख ४४ हजार ४ सय ४४ रहेको छ ।
त्यस्तै सर्वोत्कृट खेलाडीलाई एक थान मोटरसाईकल, उत्कृष्ट फरवार्डलाई २१ हजार १ सय ११, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर,उत्कृट डिफेन्स र उत्कृट कोचलाई २१ हजार १ सय ११ को दरले पुरस्कार दिइने छ । यस प्रतियोगितामा नेपालका विभिन्न १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पत्रकार सम्मेलनमा जिल्ला खेदकुद विकास समितिका अध्यक्ष योग गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, संघका उपाध्यक्ष हरि क्षेत्री लगायतले बोल्दै खेलकुँदको विकासको लागि यस प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गरे ।
यी दुई प्रतियोगिता जुध्ने भएपछि यहाँका खेलप्रेमीलाई समस्या पर्नेभएको छ । दुबै प्रतियोगिता हेर्न चाहनेहरुले कुनै एक खेल छुटाउनुपर्ने भएको छ ।