विषादी न्यूनीकरणको लागि प्रांगारिक कृषि मेला

415

रूपन्देही, फागुन ३। बुटवल उद्योग वाणिज्य संघ र कृषि मन्त्रालय अन्र्तगतका बिभिन्न निकायको संयुक्त आयोजनामा विहीबारदेखि बुटवल मण्डपमा एघारौं राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको छ । ६ दिनसम्म चल्ने मेलामा प्रांगारीक कृषि, प्रबिधि, प्रांगारीक कृषिमा कार्यरत बिभिन्न संघ संस्था र मत्स्यपालन सम्बन्धी १ सय ३० स्टल सहभागी भएका छन् ।
मेलाका अवसरमा तरकारी तथा फलफूलमा हुने बिषादीको परीक्षण, कस्तो जमिनमा कस्तो खेति उपयुक्त हुन्छ भनि माटो परीक्षण, वालि उपचार शिबिर, माछा तथा च्याउका परिकारको छुट्टै महोत्सव, मत्स्य बल्छि प्रतियोगिता, दुग्धपान प्रतियोगिता र प्रांगारीक कृषिका सम्वन्धमा बिभिन्न गोष्ठि तथा प्रतियोगिताहरु आयोजना गरिने छ । तरकारी तथा दैनिक उपभोग्यबस्तुमा बिषादीको प्रयोग घटाउने उद्देश्य मेला आयोजकले लिएका छन् ।
त्यस्तै कृषि उत्पादनलाई प्रोत्साहन हुने खालका दाहोरी गीत, लोक गीत तथा अन्य बिभिन्न सांस्कृतिक कार्यक्रम र प्रतियोगिता पनि हुनेछन् । मेलाको विहीबार एक समारोहका बीच ५ नम्वर प्रदेशका प्रमुख उमाकान्त झाले उदघाटन गर्नुभयो । त्यसअवसरमा बोल्दै उहाँले कृषि उत्पादन बढाउन र नगदेवालीबाट तत्काल लाभ लिने नीति सरकारले लिंदा बिगतमा दक्षिण एशियाली देशहरुमा खाद्यान्न निर्यात गर्ने नेपाल अहिले खाद्यान्न आयात गर्ने देशमा रुपान्तरण भएकाले नीतिमा भएको कमजोरीलाई सच्याएर अघि बढनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिजय महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले कृषिलाई दीगो उद्योगमा रुपान्तरण गरी नेपाललाई समृद्ध बनाउने हिसावले सरकारले नै बिशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बैदेशिक रोजगारमा जान बाध्य युवाहरुलाई प्रबिधि सहितको कृषिका माध्यमबाट स्वरोजगार बनाउन सबेमात्रै नेपाल आत्म निर्भर हुन सक्ने बताउदै अव बन्ने प्रदेश सरकारले त्यसलाई प्राथमिकता दिने बताउनुभयो । कृषि बिभागका निमित्त महानिर्देशक सुर्य पौडेलको अधयक्षतामा भएको कार्यक्रममा रुपन्देहीका जिल्ला समन्वय समितिका प्रमुख एकराज बिक, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, पुर्वअध्यक्ष नवराज श्रेष्ठ, महासचिव दिनेशप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी लगायतले बोल्नुभएको थियो ।
कृषि मेला बुटवल उद्योग वाणिज्य संघ र कृषि मन्त्रालय अन्र्तगतका बिभिन्न निकायको संयुक्त आयोजनामा भएको हो । मेला ७ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक करुण खनालले जानकारी दिनुभयो ।
तस्विर पनि ः भुवन कार्की