‘१५ दिनभित्र मूल्यवृद्धि फिर्ता नभए आन्दोलन’

258

भुवन कार्की
रूपन्देही, माघ १७ । निर्माण सामग्रीको अस्वभाविक मूल्यवृद्धि गरिएपछि निर्माण व्यवसायीहरु रुष्ट बनेका छन् । १५ दिनभित्र मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन् ।
रुपन्देहीको बुटवलमा बुधबार पत्रकार सम्मेलन गरेर निर्माण ब्यवसायीले यस्तो चेतावनी दिएका हुन् । छड, सिमेन्ट, अलकत्र लगायतका निर्माण सामग्रीमा मूल्यवृद्धि गरिएपछि ब्यवसायीले यसको विरोध गर्दै आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाई श्रेष्ठले भन्नुभयो, ‘अस्वभाविक रुपमा गरिएको मूल्यवृद्धि आजका मितिले १५ दिनभित्र फिर्ता नगरिए हामी आन्दोलनमा जान्छौं ।’ एक्कासी मूल्यवृद्धि गरिंदा निर्माण व्यवसायीले सम्झौता गरिसकेका निर्माणका काममा ठूलो घाटा पुग्ने भन्दै श्रेष्ठले मूल्यवृद्धि फिर्ता नभए व्यवसायीलाई सरकारले क्षेतिपूर्ति दिइनुपर्ने दावी गर्नुभयो । सार्वजनिक ऐन २०६३ अनुसार मूल्य समायोजन गरिनुपर्नेमा जबरजस्ती मूल्यवृद्धि गरिएको र जिल्ला दररेट अनुसारको मूल्य समायोजन समेत नगरिएको श्रेष्ठले उल्लेख गर्नुभयो ।
मूल्यवृद्धिकै कारण कैयौं राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित हुने भन्दै श्रेष्ठले भूकम्पपीडितका करिव ८ लाख घरहरु बनाउन समेत समस्या हुने जिकीर गर्नुभयो । कतिपय सम्पन्न भइसकेका आयोजनाहरुको रकम भुक्तानीमा समेत सरकारले ढिलाई गर्दा आफूहरु मारमा परेको उहाँको भनाई थियो । सांसद विकास कोष, सडक विभाग, सिंचाई, सहरी विकास तथा भवन निर्माण विभाग लगायतका परियोजनाबाट निर्माण व्यवसायीले पाउनुपर्ने रकम भुक्तानी हुन नसकेको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष रुद्र शर्मा, नीतिगत महासचिव विष्णु बुढाथोकी, महासचिव रामशरण देउजा लगायतले बोल्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसंग माग गर्नुभयो । विकास बजेटको ६० प्रतिशत रकम निर्माण व्यवासायमा खर्च हुने गरेको र ११ लाख युवालाई रोजगारी दिएका निर्माण व्यवासायलाई सरकारले वेवस्ता गर्न नहुने बक्ताहरुले तर्क गरे । निर्माण सामग्री उत्पादक कम्पनीहरुले २५ प्रतिशतसम्म मूल्यवृद्धि गरेपछि निर्माण व्यवासायीहरुले चर्को विरोध गर्दै आएका छन् ।
यसैबीच निर्माण व्यवसायीहरुले प्रदेश नं. ५ मा नयाँ नेतृत्व चयन गरेका छन् । बुटवलमा बुधबार प्रदेश कार्यालयको समेत उद्घाटन गरेका व्यवसायीले मेघजंग शाहको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको जानकारी दिइएको छ ।
तस्विर पनि ः भुवन कार्की