बलु हत्याका दुईजना सहयोगी पक्राउ

369

रूपन्देही, माघ ७ गते । अघिल्लो साता रुपन्देही देवदहका व्यावसायी बलु भनिने बलराम पौडेललाई गोली हानी हत्या गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानपछि गोली हान्न सघाउने नवलपरासी सुनवल अस्नैयाका ३६ वर्षीय पदम चौधरी र नवलपरासीकै डुमराहाका ३६ वर्षीय महेन्द्र भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
आईतबार इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । सीआईबीका एसएसपी धनश्याम अर्यालले गोली हान्न सघाउने र हातहतियार लुकाएर राख्न सहयोग गरेकाद्धय चौधरीलाई पक्राउ गरिएको र मुख्य सुटरको पनि खोजी कार्य जारी रहेको बताए । रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले हत्यामा प्रयोग गरिएको दुई थान कटुवा पेस्तोल, ९ राउण्ड गोली, लु ४ प १४ नम्बरको मोटरसाईकल र नगद ९९ हजार रुपैयाँ पनि बरामद भएको जानकारी दिए ।
गतवर्ष देवदहका युवा दुर्गा तिवारी र अहिले बलुको हत्या मनोज पुनकै योजनामा भएको भन्दै प्रहरीले उनको खोजी कार्य पनि जारी रहेको बताएको छ ।