‘चन्दा उपर गर्न छड र सिमेण्टमा मूल्यवृद्धि’

605

रूपन्देही, पुस २६ गते । यस क्षेत्रका सिमेन्ट उद्योगहरुले मनोमानी रुपमा मूल्यवृद्धि गरेपछि यहाँका हार्डवेयर व्यवसायीहरु आन्दोलित भएका छन् ।
सिमेण्ट उद्योगीले भर्खरै भएका स्थानीय, प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवारहरुलाई दिएको चन्दा असुलउपर गर्न सिमेण्ट उद्योगीहरुले एक्कासी मूल्यवृद्धि गरेको आरोप समेत लगाएका छन् । सिमेण्ट तथा छड उद्योगीले सिमेण्ट र छडको मूल्यवृछि गरेपछि यहाँका हार्डवेयर व्यवसायीहरु गत चारदेखि आफ्ना पसल नै बन्द गरेर आन्दोलित भएका हुन् ।
बुधबार बुटवल उद्योग बाणिज्य संघको कार्यालयमा एक कार्यक्रम गरी उनीहरुले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले चुनावमा उम्मेदवारलाई दिएको चन्दा असुल्न गरिएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । हार्डवेयर व्यवसायीले यसअघि मूल्यवृद्धिको विरोधमा प्रशासनमा ज्ञापनपत्र बुझाइसकेका छन् ।

बुटवलका हार्डबेयर व्यवसायीहरुले अस्वभाबिक रुपमा छड र सिमेन्टको मूल्य बढाइएपछि बाध्य भएर आफुहरुले पसल बन्द गरेको बताए । उनीहरुले कच्चापदार्थ तथा अन्यबस्तुको मुल्य यथास्थितिमा रहेको अवस्थामा छड सिमेन्टको मात्रै मूल्य बढाउनुपर्ने उद्योगीहरुलाई कुनै बाधयता नभएको बताएका छन् । कार्यक्रममा हार्डवेयर ब्यवसायीहरु अमोद सिंमांंगैडा र मुकेश श्रेष्ठले मूल्यवृद्धिको चर्को आलोचना गर्नुभयो । उहाँहरुले उपभोक्ता र हार्डवेयर व्यवसायीलाई असर पर्ने गरी एक्कासी मूल्यवृद्धि गरिएको भन्दै चन्दाको रकम मूल्यवृद्धि गरेर उठाउन खोजेको आरोप लगाउनुभयो । समस्या समाधामनका लागि उद्योग वाणिज्य संघलाई आवश्यक पहल गरिदिन पनि उहाँहरुले आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष खिमबहादुर हमालले रुपन्देहीमा सिमेन्ट र छड उद्योगहरु बढी भएकाले सिद्धार्थनगर उद्योग वाणिजय संघसहित अन्य संस्थाहरु समेतको समन्वयमा उद्योगीहरुसंग छलफल गरी निकास निकाल्ने आश्वासन दिनुभयो । संघका कार्यसमिति सदस्य टंक गैरेको सभापतित्वमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष महेशमान सिंह, बाणिज्य उपाध्यक्ष हरी अर्याल लगायतले बोल्दै एक्कासी गरिएको मूल्यवृद्धि उपयुक्त नभएको उल्लेख गर्नुभयो । भेलाले संघ अन्तरगत हार्डवेयर उपसमितिको सभापतिमा दिनेश घिमिरेलाई सर्बसम्मत चयन गरेको छ ।
सिमेण्टमा प्रतिबोरा ५० रुपैयाँ र छडमा प्रतिकिलो १० रुपयाँसम्म उद्योगीहरुले मूल्यवृद्धि गरेका छन् ।