चर्चित कलाकारले तताए बुटवल महोत्सव

1188

प्रदर्शनी आईडल बने शुशिल
भुवन कार्की
रूपन्देही, पुस १८ । जाडोको मौसम, रमाईलो मेला घुमेर ताता र मिठामिठा परिकार खान पाईने बुटवल महोत्सवमा सांगीतिक माहोलमै मानिसहरु धेरै झुम्मिए । गत पुस ६ गतेदेखि शुरु भएको १४ औं राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि, पर्यटन प्रविधि महोत्सव २०७४ को अवसर पारेर बुटवलबासी सांगीतिक माहोलमा बाह्र दिनसम्म झुमे ।
नेपालका ख्यातिप्राप्त चर्चित कलाकारहरुले गीत गाउँदा बुटवलको बुटवल मण्डपमा हजारौंको संख्यामा उपस्थित हुने गरेका दर्शकहरु छमछमी नाचे पनि । पुस महिनाको जाडोमा समय कटाउने उपयुक्त स्थल बनेको यस महोत्सवमा किनमेल गर्न र सांगीतिक महोलमा रम्न दिनहुँ मानिसहरुको खचाखच भिड देखियो । खासगरी विदाका दिनमा दर्शकको निकै चाप बढ्ने गरेको र व्यवस्थापन गर्न गाह्रो परेको महोत्सव मूल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले बताए । यसपटक विदाका दिन धेरै भएकाले पनि दर्शकहरुको चाप बढेको रेग्मीले उल्लेख गरे ।
ख्यातिप्राप्त चर्चित कलाकार तथा गायक गायिकाहरु पशुपति शर्मा, राजु परियार, बद्री पंगेनी, रामचन्द्र काफ्ले, पुरुषोत्तम न्यौपाने, खुमन अधिकारी, बैकुण्ठ महत, नारायण लेकाली, प्रचण्ड जीसी,चन्द्र परियार, जुनु रिजाल, सम्झना लामिछाने, परु शाही, शान्ताश्री परियार लगायत करिब ४ दर्जन कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिए । चर्चित कालाकारहरुलाई प्रत्यक्ष देख्न र सुन्न पाएका आम दर्शकहरु कतिपयले मन थाम्नै सकेनन्, उठेर छमछमी नाच्ने गरे ।
नयाँ प्रतिभा जम्माउने हेतुले महोत्सवमा आयोजना गरिएको प्रदर्शनी आईडलको उपाधी भने शुशिल आचार्यले जीते । बिजेता शुशिलले नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरे । आइडलको दोस्रो स्थान निरज थापाले प्राप्त गरे । द्वितीय उपाधीको पुरस्कार रु. ५५ हजार ५ सय ५५ रहेको छ भने आकास झा ले रु. ३३ हजार ३ सय ३३ पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेका छन् । ज्याक्वर प्रदर्शनी आइडल–२०७४ (सिजन ५) नाम दिइएको प्रतिस्पर्धामा चर्चित अभिनेता सुनिल थापाले बिजेता उपविजेताहरुलाई पुरस्कार प्रदान गरे । मेलामा विभिन्न लोकदोहोरी गीत प्रतियोगिता पनि भए । महोत्सव मंगलबार सकिएको छ ।