दोहोरो राजश्व बुझाउनु परेको ब्यवसायीको गुनासो

698

मिना ढकाल
बुटवल, १८ पुष । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको चौथो साधारण सभा एवं दोश्रो अधिबेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले पुनः लक्षमण क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश थापा, महासचिव सुमन सापकोटा, सचिव पदम शर्मा भण्डारी, कोषाध्यक्ष रविन्द्र कुमार श्रेष्ठ, सह–सचिव कृष्ण चौहान क्षेत्री चयन भएका छन । समितिको सदस्यहरुमा नविन पोख्रेल, गोपाल पाण्डे, सोमन तिमिल्सिना, कमल बस्याल, दिपक तामाङ्ग, सुन्दर थापा र अगम पुन (अनिल) निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्ने बक्ताहरुले भारत लगाएत बिभिन्न मुलुकबाट आयात गरिने साना तथा मझौला ढुवानीका साधन दर्ता गर्दा ब्यबसायिहरुले दोहोरो राजश्व बुझाउनु परेको गुनासो गरेका छन । यसप्रकारका साधन पहिले रातो नम्बर प्लेट अन्तर्गत निजि प्रयोजनका लागि भनेर दर्ता गर्नुपर्ने र पछि त्यसैलाई कालो नम्बर प्लेट बनाउन अर्थात सार्वजनिक ढुवानी साधन बनाउँदा थप दस्तुर तिरेर मात्र हुने भएकाले ब्यबसायीले दोहोरो राजश्व तिर्नु परेको बताएका छन । लुम्बिनी अन्चल क्षेत्रमा बिगत लामो समयदेखि साना तथा मझौला ढुवानीका सवारी साधन संचालन गर्दै आम जनतालाई सेवा पुराउँदै आएका ब्यबसायिहरुले आफ्ना समस्या समाधान नभएकोमा चिन्ता ब्यक्त गरेका हुन ।
सो अधिबेशनलाई सम्बोधन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले यातायात ब्यबसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने आवश्यक्ता रहेको बताए । यातायात ब्ययसायीहरुको हकहितको संरक्षण र बृत्ति बिकासका लागि सबै यातायात ब्यबसायीहरु एकजुट भएर अघिबढ्न्ु पर्ने समय आएको अध्यक्ष रानाभाटले बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बेल्वासे, यातायात मजदुर भलाई कोषका अध्यक्ष नारायण भट्टराई, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पुर्वअध्यक्ष तथा केस लोकराज पोखे्रल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, संघका अध्यक्ष लक्ष्मण क्षेत्री, उपाध्यक्ष दिनेश थापा, सहसचिव कृष्ण चौहान क्षेत्री लगाएतले यातायात ब्यबसायीका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।
सो कार्यक्रममा संचारका क्षेत्रबाट यातायात क्षेत्रका बारेमा उल्लेखनिय योगदान पुराएबापत पत्रकार मिना ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ठ व्यवसायी राजेन्द्र श्रेष्ठ, कर्मचारीको तर्फबाट टिकाराम न्यौपाने, कुशल चालक दिपक सुनुवार, स्वरोजगार व्यवसायी रामबृक्ष अग्रहरी र संघका सल्लाहकारहरु महेन्द्र पाण्डे, हरिश ढकाल, कृष्ण बेल्वासे, मोहन पिएस, कपिल ज्ञवालीलाई पनि सम्मान गरिएको थियो । सडक दुर्घटना न्यूनिकरणका लागि बिभिन्न तालिम लगाएतका कार्यक्रम गर्दै आईरहेको सो ढुवानी संघले ब्यबसायिक हकहितका साथै सामाजिक क्षेत्रमा पनि योगदान पुराउँदै आएको छ ।