विकासका कामलाई राजनीतिकरण नगर

443

भुवन कार्की
वि.सं. २०४८÷४९ देखि नियमित बजेट पर्न लागेको भएपनि पाल्पा सुंगुरेढुंगादेखि रुपन्देहीको सालझण्डी जोड्ने मोटरबाटोको ट्रयाक २०७० सालमा खुल्यो । यो ट्रयाक खुलेको पाँच वर्षपुग्न लाग्दा अहिलेमात्र बस चल्नसक्ने बाटो बनेको छ । यो बाटोको गत शनिबार नेपाली काँग्रेसका नेता हरिप्रसाद नेपालले उद्घाटन गरेका छन् ।
यो बाटो छिटो खोल्नुपर्छ भनेर मैले मिडियामार्फत दवाव सृजना गर्दै आएको हुँ । विभिन्न सञ्चारमाध्यममा मैले समाचार प्रकाशित गरेको थिंए । तर यसले तीब्रता पाएको पछिल्लो २÷४ वर्ष मात्र भएको छ । करिब ३५ वर्षअघिदेखि बजेट खर्च गरिएको यो मोटरबाटो किन यति ढिलो निर्माण भयो भन्ने प्रश्न गर्ने मान्छेको अभावकै कारण ढिलो भएको मेरो बुझाई छ ।
पटक–पटक यस क्षेत्रबाट निर्वाचित भएर गएका नेपाली काँग्रेस र एमालेका नेताहरुले यसमा पटक्कै चासो दिएका थिएनन् । बरु वर्षा लाग्दै गर्दा डोजरले केही ढिस्का भत्काएर कागजमा पुरा काम देखाउथें । यो बाटोका प्राविधिकले पाल्पा जिल्ला सदरमुकाममै बसेर हिसावकिताब मिलाउँथे ।
यो बाटोको ट्रयाक खुलेको ५ वर्ष बित्नै लाग्दा जनतन (हिउँदमा मात्र) बस चल्न सक्ने बाटो बनेको छ । यो पनि राज्य पुनर्संचरनापछि प्रगति भएको हो । रैनादेवि छहरा गाउँपालिका बनेपछि यसको बजेटको आकार पनि ठूलो भएकाले यो वर्ष बाटोको स्तरीकरण गरिएको छ । विगतका वर्ष भन्दा अहिले यो बाटो निकै राम्रो बनेको छ । हिउँदमा मात्रै भएपनि मानिसलाई यातायातको सुविधा भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अघिसम्म साविक पाल्पा क्षेत्र नं ३ का जनप्रतिनिधिको हिसावले पछिल्ला वर्ष नेपाली काँग्रेसका नेता हरिप्रसाद नेपालले यसको जस लिने मौका पाए । यहाँको प्रारम्भीक आवश्यकता मोटरबाटो नै थियो । यसैले पछिल्लो समय हरि नेपालले बाटोलाई बहुवर्षिय आयोजनामा पार्न आवश्यक सहयोग गरेकै हुन् । यसअर्थमा उनलाई जस दिनु स्वभाविक हो । तर यहाँका नेपाली काँगे्रसका केही नेताले यसलाई राजनीतिकरण गरिरहेका छन् । विकासको काममा राजनीतिकरण गरिनु उचित होइन् । उनको ठाउँमा जुनसुकै पार्टीका जनप्रतिनिधि भएपनि विकासका काम ढिलो चाँडो हुने नै थिए । यो समयको माग हो । होइन भने ३५ वर्षसम्ममा यो सडक पक्की बनिसक्थ्यो । अहिलेसम्म पनि यो बाटो हिउँदे खेतिजस्तै बनेको छ ।
अर्को कुरा यो सडक अन्तरगत पर्ने साविकका गाविसहरु बल्ढेङगढी, सत्यवतीमा अझै पनि विद्युतीकरण हुन सकेको छैन् । यसै आर्थिक वर्षमा बल्ढेङगढी र सत्यवतीमा जताततै विजुली बाल्छु भनेर चारवर्ष अघि भाषण गरेका हरि नेपालले अझैपनि यो काम पुरा गर्न सकेका छैनन् । चाहे जोहोस् हरि नेपालले गरेका सकारात्मक प्रयासलाई हामीले प्रशंसा गरेकै छौं । अहिलेको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट पराजित नै भएपनि विगतमा गरेका उनका सकारात्मक पहललाई विर्षन मिल्दैन । तर स्थानीय काँग्रेसीजनले पछिल्लो समय यो ठाउँलाई हरि नेपालले स्वर्गलोक बनाए भन्ने हिसावले प्रचारमुखी कार्यक्रमहरु गरिरहेका छन् । यो उचित छैन ।
शनिबार यो मोटरबाटोमा बस गुडाएर हरि नेपालद्धारा उद्घाटन गराईएको छ । तर यो कार्यक्रममा सबजसो अतिथि र सहभागी नेपाली काँग्रेसकै देखिए । हालै निर्वाचत यस क्षेत्रका जनप्रतिनिधिलाई समेत उपस्थित नगराई बाटो उद्घाटन गराईयो । यो संयोग होइन नियतबस नै हो । अन्य स्थानीय सरोकारवालालाई पनि निमन्त्रणा गरिएन । मानौ विकास निर्माणका सम्पूर्ण आयोजना हरि नेपालकै निजी लगानीबाट भएको हो भनेजस्तै पार्न खोजियो । यो क्षेत्र काँग्रेसको गढ हो भन्दै आएका यहाँका पूर्वाग्रही स्थानीय केही नेताले विकास निर्माणको सम्पूर्ण ठेक्का आफूले पाएको भन्ठानेका छन् । हालै निर्वाचत जनप्रतिनिधिलाई समेत वेवास्ता गरिएको छ । अहिले रैनादेवि छहरा गाउँपालिका अन्तरगत वडा नं. ७ बल्ढेङगढी वडापालिका को २८ लाख बजेटले यो बाटो स्तरीकरण गरिएको हो । स्तरीकरण मात्र हो । हिउँदेबाटोको रुपमा सञ्चालन भएको केही वर्ष बितिसकेको छ । तर अहिलेको निर्माण समितिलाई उपभोक्ता समितिको नाम दिएर काँग्रेसीजनको प्रचार गर्न खोजिएको छ । यो आयोजना नेपाली काँग्रेसको मात्र होइन् । विकास निर्माणका आयोजनाहरु संघीय संरचना अन्तरगत सिंहदवारदेखि गाउँ–गाउँसम्म आएका हुन् । यी कुनै दल विषेशका प्रचारमुखी कार्यक्रम होइनन् । सबै राजनीतिक दलको पहलमा यो मुलुकमा परिवर्तन आएको हो । विगतमा २० लाखको बजेटले चल्ने साविकका गाविसमा अहिले ढाई करोडको बजेट आएको छ । यही बजेटले संभव भएको हो विकास । यसर्थ आइन्दा सबै दल, सरोकारवाला र आम स्थानीयबासीको चाहना बमोजिम कामहरु हुनुपर्छ । विकासका काममा राजनीतिकरण कसैले पनि गरिनुहुँदैन् । राजनीतिक पूर्वाग्रहले समाज बन्दैन ।