विकासे संस्थाहरु सक्रिय बन्दै

426

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा टोल विकास संस्थाहरु गठन हुन थालेका छन् । नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, शहरी सुशासन तथा मानव संसाधन विकासमा जनसहभागिता बढाउने उद्देश्यका साथ टोल विकास संस्थाहरु गठन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकामा हालसम्म २४ वटा टोल विकास संस्थाहरु गठन भैसकेका छन् भने बाँकी गठनको प्रक्रियामा छन् । वडा नं. १५ मा टोल विकास संस्था गठन सकिएको छ । त्यहाँ ८ वटा टोल विकास संस्था गठन भएको नगरपालिकाले जनाएको छ । भुगोलका आधारमा कम्तिमा ८० देखि बढीमा ३५० घरधुरीलाई आवद्ध गराएर संस्थाहरु गठन भएका छन् ।
नगरपालिकामा दर्ता भएका संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आईतबार प्रमाण–पत्र प्रदान गर्दै नगर प्रमुख घिमिरेले नगरपालिकाले सञ्चालन गरेका गतिविधिमा टोल विकास संस्थामार्फत् रचनात्मक जनसहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । नगर उप–प्रमुख जागेश्वरी चौधरीले आगामी दिनमा टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनुभयो ।
सोही अवसरमा वडा नं. १ को शिवचोक टोल विकास संस्थाका अध्यक्ष भेषराज गैरेले संस्था गठनपछि सरसफाईलगायत टोल सुधारका विभिन्न कामहरु सुरु गरिएको जानकारी गराउनुभयो । यस्तै वडा नं. १५ को मोहनपुर टोल विकास संस्थाकी अध्यक्ष मिना पाण्डेयले फोहोरको व्यवस्थापनका लागि नगरपालिकामा व्यवस्थित डम्पिङ साईड हुनुपर्नेमा जोड दिनुभयो ।