सालझण्डीको पशुपति मावि : विद्यालयको जग्गामा वर्षौंदेखि लुट

21

रूपन्देही, २० भदौ । रूपन्देहीको सालझण्डीमा रहेको पशुपति माध्यामिक विद्यालयको जग्गा प्रयोग गरेर केही सीमित ब्यक्तिले मनग्य नाफा लिएका छन् ।
बर्षौंदेखि विद्यालयको जग्गा भाडामा लिएका ब्यक्तिले आफूखुसी अन्य ब्यक्तिलाई थप भाडा लिएर बिचौलिएको रुपमा नाफा कमाउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाका अनुसार विद्यालयले वि.सं. २०५३ सालदेखि न्यून शुल्कमा जग्गा भाडामा लगाएको थियो । विद्यालयले १०÷१० हात मोहडा तथा पिछाड भएका ७२ वटा पसल बन्ने जग्गा भाडामा लगाएको थियो । त्यतिबेला एउटा जग्गाको मूल्य भित्र सडकमा १ सय २० र पूर्वपश्चिम राजमार्गतर्फ ४ सय ११ थियो । ०५३ सालदेखि अहिलेसम्म ३६ बर्षको अवधिमा जम्मा एकपटक मात्र भाडा समायोजन गरिएको छ । थापाका अनुसार ४ बर्षअघि एकपटक मात्र भाडा समायोजन गरिएको हो । त्यसपछिको भाडा भित्री सडकमा १५ सय र राजमार्गमा २ हजार बनाइएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डीमा पर्ने अन्य पसलको भाडा सामान्यतया १५ देखि २५ हजार रुपैयाँ छ । तर तीन दशकअघि भाडामा लिएको विद्यालयको जग्गामा सामन्य टहरा बनाएका ती ७२ जना पसलेले अन्य ब्यापारीलाई भाडामा लगाएर मासिक १५ देखि २५ हजारसम्म असुलेका छन् भने विद्यालयलाई भित्री सडककाले १५ सय र राजमार्गकाले २ हजार मात्र तिरिरहेका छन् ।
यसरी हेर्दा वर्षेनी लाखौं रुपैयाँ विद्यालयलाई घाटा भइरहेको छ भने अन्य ब्यक्तिलाई भाडामा लगाएर नाफा खानेहरुले ठूलो रकम कमाइरहेका छन् । चलनचल्तीको भाडा अनुसार विद्यालयलाई मासिक करिव ११ लाख रुपैयाँ आम्दानी हुनुपर्नेमा अहिले मासिक १ लाख २० हजार भाडा आम्दानी हुने गरेको छ । विद्यालयलाई आर्थिक घटामा लगेर ब्यक्तिहरु मोटाउने काम गरिएको भन्दै केही स्थानीयले गुनासो गरेका छन् ।
यसरी सस्तो भाडा तिरेर पसल चलाउनेमा वर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमनाथ घिमिरेले पनि दुईवटा सटर लिएर ब्यवसाय गरेका छन् । उनी हाल अस्वस्थ भएपछि भागिरथा घिमिरेलाई कार्यवहाक अध्यक्ष दिएका छन् ।
विद्यालय ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष भागिरथा घिमिरेले हालसम्म एकपटक मात्र भाडा समायोजन भएको बताइन् । उनले भनिन्, ‘ब्यवस्थापन समितिमा मेरो तीन कार्यकालले ९ वर्ष भयो भाडा बढेको एकपटक मात्र थाहा पाएकी छु ।’ उनका अनुसार प्रत्येक दुई वर्षमा भाडा समायोजन गर्नुपर्ने भएपनि समितिकै मान्छेले नमानेपछि समायोजन हुन नसकेको हो ।
उतm विद्यालयकी लेखापाल बसन्ती थापाले भनिन्, ‘हरेक दुई वर्षमा भाडा समायोजन गर्ने कुरा उठ्दै आएको छ, तर मैले जागिर गरेको १९ वर्षभयो, एकपटक मात्र भाडा बढेको थाहा पाएकी छु ।’
विद्यालयको जग्गा सस्तो दरमा ओगटेर तेस्रो पक्षबाट फाइदा असुलीरहेका ती ब्यक्तिले नै भाडा समायोजन गर्न नदिएको स्थानीयको भनाई छ । विद्यालयका प्रधानाध्यापक थापाले सबैको सहमतिमा अब भाडा समायोजको लागि विद्यालयले पत्र पठाउने तयारी गरकोे बताए ।