बर्षा नसकिदै तिनाउ नदीको दोहन

53

बुटवल, २५ साउन । वर्षायामा नसकिदै रुपन्देहीको तिलोत्तममास्थित तिनाउ नदीमा दोहन शुरु गरिएको छ । हिउँद महिनाभर गिट्टी वालुवा चोरी तस्करी हुने यस नदीमा यसपटक स्थानीय सरकारले वर्षा याम नसकिदै नदिको दोहन गरेको छ ।
नगरको विपत ब्यवस्थापन समिति र जिल्ला विपत ब्यपस्थापन समितिबाट निर्णयनै गराएर नदीबाट गिट्टी वालुवा निकालिएको छ । वन क्षेत्रमा डिभिजन वन कार्यालय र अन्य ठाउँमा स्थानीय सरकारले वर्षको तीन महिना जेठ, असार र साउनभर नदीमा पस्न समेत बन्देज गरेका हुन्छन् । तर यहाँको तिलोत्तमा नगरपालिकाले साउन महिनामै तिनाउबाट नदीजन्य बस्तु निकालेर बाहिर डम्पीङ गरेको छ । नदिले कटान गर्न सक्ने भएकाले वहाव मिलाउन नदीबाट गिट्टी वालुवा निकालिएको नगर प्रमुख रामकृष्ण खाँणको दावी छ ।
गत साउन १८ र १९ गते तिलोत्तमा वडा नं. ४ को डिङ्गरनगर क्षेत्रमा पर्ने तिनाउ नदीबाट नदीजन्य बस्तु निकालिएको हो । नगरप्रमुख खाँणका अनुसार करिव ५ सय टिप्पर नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाका इन्जीनियर युवराज पराजुलीले भने के कति परीमाणमा नदीजन्य बस्तु निकालिएको भन्नेबारे प्रतिवेदन तयार पार्न बाँकी रहेको बताए ।
वातावरणबिद् गोरखनाथ खनालले प्रक्रिया अनुसार नदीको इ.आई.ए. गरेर मात्र हिउँद महिनामा टेण्डरमार्फत निकासी गर्नुपर्ने भएपनि नदी कटानको डरले यस्तो गरिएको हुनसक्ने बताए ।
त्यस क्षेत्रमा डिङ्गरनगरबाट सेमलार जोड्ने पुल समेत बन्दैछ । स्थानीयका अनुसार पुलको जगवरिपरि बहाव मिलाउने गरी नगरपालिकाले निर्णय गराएको हो । तर नदीको करिव डेढ किलोमिटरको दुरीमा उत्तरतर्फ स्काभेटर लगाएर नदीजन्य पदार्थ निकालिएको छ । यस क्षेत्रमा यसअघि पनि रातिमा नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको थियो ।
अहिले नगरपालिकाले निकालेको नदीजन्य पदार्थ कहाँ केकालागि प्रयोग गर्ने भन्ने पनि कुनै निर्णय गरिएको छैन । जिल्ला विपत ब्यवस्थापन समितिको सल्लाहमा नगरभित्रै सडकहरु बनाउन प्रयोग गरिने नगरप्रमुख खाँणले बताए । तर नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले भने, ‘जनप्रतिनिधिहरुले नै सेटिङ मिलाएर यस्तो काम गरेका छन्, यसले तिनाउको दोहन झन बढ्ने देखिन्छ ।’ copid bye ratopati