जवरजस्ती करणीको प्रयास भन्दै बुहारीद्धारा जेठाजुलाई प्रहरीमा उजुरी

1302

पाल्पा, १८ असार । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित जोगदमार निवासी भिमबहादुर बगालेलाई जवरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ । ५४ वर्षीय बगालेलाई आफ्नै बुहारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको हो ।
गत असार १६ गते विहीबार खेतमा काम गर्न गएकी भिमबहादुरकी सहोदर ४३ वर्षीया बुहारी सुकुमारी बगाले ( नाम परिर्वतन) लाई जवरजस्ती करणीको प्रयास भएको भन्दै उनै बुहारीले जिल्ला प्रहरी कार्यालय पाल्पामा शुक्रबार जाहेरी दिएकी छन् ।
बुहारी बगालेले प्रहरीमा दिएको जाहेरीमा विहीबार दिउँसो १२ बजे आफू खेतमा काम गर्न गएको बेला ढुंगाको छेउमा जेठाजु भिमबहादुरले जबरजस्ती करणीको प्रयास गरेको र आफू चिच्चाएर छोरालाई बोलाएपछि उनी भागेको उल्लेख गरेकी छन् । त्यसबीचमा आफ्नो छोराले जेठाजु भिमबहादुरको फोटो समेत खिचेर उनलाई भगाएपछि आफू बांँच्न सफल भएको दाबी गरेकी छन् । उनले करणी उद्योग अन्तरगत कारवाहीको माग गर्दैै क्षेतिपूर्तीको समेत माग गरेकी छन् ।
उता जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार उक्त घटनाको छानबिन शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र थापाले दिएको जानकारी अनुसार पीडित भनिएकी बगालेको स्वास्थ्य परीक्षण गरी जाहेर समेत लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको थापाले बताए ।

उता अभियुक्त भिमबहादुर बगाले फरार भएका छन् । स्थानीयले दिएको जानकारी अुनसार उनी शुक्रबार बेलुकादेखि फरार छन् । प्रहरी चौकी बल्ढेङगढीका हवल्दार लिलाबहादुर केसीले अभियुक्त बगालेको खोजी भइरहेको बताएका छन् । शुक्रबार बेलुकादेखिनै उनकोे खोजी कार्य भइरहेको उनले बताए ।
तस्विर ः बुहारी बगालेका छोराले खिचेको तस्विर । यसको साथै बगालेको जाहेरी सुरक्षित छ ।