नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान

106

बुटवल, २३ जेठ । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । संघले सोमबार बुटवलमा कार्यक्रमको आयोजना गरी रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो ।
त्यस अवसरमा बोल्ने उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक विकासको लागि औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन जनप्रतिनीधिहरुलाई सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासको लागि औद्योगिक तथा व्यवसायिक वातावरण आवश्यक रहेकाले त्यसमा ध्यान दिन जनप्रतिनीधिहरुलाई आग्रह गरे ।
उनले अहिले मुलुकमा औद्योगिक तथा व्यवसायिक क्षेत्रमा उत्साहजनक वातावरण नभएको बताउँदै उनले स्थानीय तहबाट हुने नीतिगत व्यवस्थालाई सुधार गर्ने हो भने औद्योगिक तथा व्यवसायिक वातावरण पनि बन्ने र त्यसका माध्यमबाट मुलुकको अर्थतन्त्रमा सुधार पनि गर्न सकिने धारणा राखे ।
नवनिर्वाचित जनप्रतिनीधिहरुलाई बधाई ज्ञापन गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जनप्रतिनिधीसंग उद्योगी व्यवसायीले धेरै आशा र विश्वास पनि गरेको भनाई राखे । उजने यस क्षेत्रकै पुरानो निजी क्षेत्रको छाता संस्था बुटवल उद्योग वाणिज्य संघले आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा गरेको योगदानको चर्चा गर्दै स्थानीय तहमा नीतिगत रुपमा थुप्रै सुधार गर्नुपर्ने कुराहरु रहेकोले त्यसमा गहन अध्ययन गर्न आग्रह गरे ।
त्यस अवसरमा नवनिर्वाचित जनप्रतिनिधीहरुले उद्योगी व्यवसायीका समस्या समाधान र यस क्षेत्रको विकासको लागि नीजि क्षेत्रसंग संगै बसेर सुधारका काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नीजि क्षेत्रको प्रवद्र्धन र विकास विना मुलुकको अर्थतन्त्रमा सुधार गर्न नसकिने बताउँदै स्थानीय विकासको लागि नीजि क्षेत्रसंग सहकार्य गर्न आफूहरु तयार रहेको भनाई उनीहरुले राखे ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेयले यहाँका विकासको लागि सबैको साझा प्रयत्न आवश्यक रहेको बताए । उनले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै त्यो भूमिका निर्वाह गरिदिन आग्रह गरे ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरको विकासमा निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले बुटवललाई लैंङ्गिक रुपमा विभेद रहित नगरपालिका बनाउन चाहेको बताउँदै सबैले सबैलाई सम्मान गर्ने, उपभोक्ता मैत्री, व्यवसायमैत्री नगरपालिका निर्माणमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन ।