रुपन्देहीमा माओवादीले खाता खोल्यो

2098

बुटवल, १ जेठ । स्थानीय तहको दोस्रो निर्वाचन अन्तरगत बैशाख ३० मा भएको निर्वाचनमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रले रुपन्देहीमा सैनामैनाको वडा नं. १ बाट खाता खोलेको छ ।
एमालेका वडाअध्यक्षका प्रत्यासी केहरसिंह गलामी मगरलाई २७५ मतान्तरले पराजीत गर्दै माओवादी केन्द्रका भुवन क्षेत्री वडाअध्यक्षमा विजयी भएका छन् । भुवनसहित गठबन्धनको प्यानलनै बिजयी भएको सैनामैना वाईसीएल अध्यक्ष शान्ति बरालले जानकारी दिइन । क्षेत्रीले २२१६ र गलामीले १९४१ मत प्राप्त गरेका थिए ।
रुपन्देहीमा गठबन्धन दलहरुले नै जित हासिल गरेका मत परिणाम सार्वजनिक भइरहेका छन् । बुटवल वडा नं. १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत बिजयी भएका छन् भने वडा नंं. २ मा गठबन्धनबाट एकीकृत समाजबादीका सुनिल शाक्य बिजयी भएका छन् । यसैगरी रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नंं १ मा राप्रपाका नेता बेलबहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
बुटवलको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे अग्रस्थानमा छन् भने तिलोत्तमामा झिनो मतले मोहन चापागांई र बालकृष्ण खांण अघिपछि हुने गरेका छन् ।