गरिबलाई गासबासको ब्यवस्था गर्छु : यादव

242

भुवन कार्की
रुपन्देही, २६ बैशाख (०७९) । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको दोस्रो निर्वाचनको तयारी तीब्र भइरहेको बेला रुपन्देहीको ओमसतिया गाउँपालिकामा पनि राजनीतिक दलहरुले घरदैैलो तीब्र पारेका छन् ।
यस गाउँपालिकामा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्र र नेपाली कांग्रस, एमाले, जसपा लगायतका पार्टीहरु प्रतिस्पर्धामा छन् । गठबन्धन दलका तर्फबाट पालिका अध्यक्षको साझा उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता बिजय यादवले यसपटक आफूले सहजै निर्वाचन जित्ने दाबी गरेका छन् । कुल २३०९९ मतदाता संख्या रहेको यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । यसअघि पनि माओवदीका उम्मेद्वारले जितेको यस पालिकामा यसपटक पनि जित हुने आशा यादवको छ ।
को हुन् विजय यादव ?
वि.सं. २०३६ साल साउन ४ गते ओमसतिया—४ बसन्तपुरमा जन्मिएका बिजय यादव सानैदेखि लगनशील थिए । विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्ने यादव आफ्ना बुवा हजारीप्रसाद यादवबाट प्रभावित थिए । हजारीप्रसाद पञ्चायती कालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी सद्भावना पार्टीका नेता थिए ।
वि. सं. २०७२ तिरबाट मूल राजनीतिमा सक्रिय भएका विजय केही समय एमाले पार्टीप्रति झुकाव राख्थे । अन्ततः माओवादीलाई चुनाव जिताउने रणनीति अन्तरगत स्वतन्त्र उम्मेद्वारको रुपमा पालिका अध्यक्षमा चुनाव लडे जसले गर्दा अन्य पार्टीका भोट काटिए र माओवादी केन्द्रले जित हासिल गर्यो ।
अघिल्लो स्थानीय तहको निर्वाचनपछि माओवादी केन्द्रमा झन् सक्रिय भएर लागेका यादवले अहिले माओवादी केन्द्रकै तर्फबाट कांग्रेससंग गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् । निर्वाचन जिते ओमसतियामा गरिवलाई गासबासको ब्यवस्था गर्ने पहिलो सपना रहेको बाताउने यादवले कृषि, स्वास्थ्य र शिक्षामा नयाँ आयाम थप्ने गरी काम गर्ने इच्छा ब्यक्त गर्दछन् । किसानलाई कृषि सामग्री उपलब्ध गराउने, युवाहरुलाई रोजगारी दिलाउने, पालिकाभित्र २५ बेडको अस्पताल निर्माण गर्ने, रंगशाला निर्माण गर्ने, भूमिहीनलाई आवासको ब्यवस्था गर्ने, किसानलाई मल र बिउ समयमै उपलन्ध गराउने लगायतका चुनावी प्रतिबद्धता उनले ब्यक्त गरेका छन् । संचारकर्मीको जिज्ञासामा विजय यादवले भने, ‘म पनि किसानको परिवारबाट हुर्किएको हुंँ, त्यसैले किसान तथा गरिव परिवारको उथ्थानको लागि पहिलो प्राथमिकता दिनेछु ।’
पालिका अध्यक्षका उम्मेद्वार यादव स्थानीय विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । उनले ५० करोड लागानीमा स्टीम राइस प्लाण्ट (राइस मिल) उद्योग खोलेर ८० जना युवायुवतीलाई रोजगारी दिएका छन् ।
अहिले चुनावी दौडामा दिनहुँ जनताको दैलोमा पुगिरहेका यादवको जीत निश्चितप्राय रहेको माओवादी केन्द्र ओमसतियाका सचिव रामबहादुर गुरुङले बताए । पालिका पार्टी अध्यक्ष प्रमोद यादव, उपाध्यक्षद्धय सदावृक्ष गुप्ता (शुक्ला), फोतु मुसलमान, वडा नं. ३ का वडाअध्यक्ष पदका प्रत्यासी चन्दरप्रसाद यादव लगायतका नेता कार्यकर्ताहरु चुनावी दौडमा सक्रिय छन् ।