‘सैनामैनामा गठबन्धनको जीत सूनिश्चित’

678

भुवन कार्की (टिप्पणी)
बुटवल, २३ बैशाख (०७९) । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीको सैनामैनामा पनि राजनीतिक दलहरु चुनावी मैदानमा छन् । दलहरुको घरदैलो अभियान जारी छ । नेकपा एमालेबिरुद्ध गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा अन्य साना दलहरु चुनावी मैदानमा छन् ।
यसअघि पहिलो स्थानीय तहको निर्वाचनमा करिब ३ हजार मतान्तरले कांग्रेसलाई पछि पार्दै निर्वाचन जितकोे एमालेबिरुद्ध अहिलेको गठन्धन दलले भने एमालेलाई हराउने संकेत देखिएको छ । अहिले सैनामैना नगरपालिकको मयेरको लागि एमालेबाट चित्रबहादुर कार्की र उपमेयरको लागि बिना राना उम्मेद्वार बनेका छन् भने गठबन्धन दलबाट मेयरमा कांग्रेसका फडिन्द्र शर्मा र उपमेयरमा माओवादी केन्द्रका मानबहादुर महत (नारायण) उम्मेद्वार बनेका छन् ।
अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा नेकपा एमाले १३५००, कांग्रेस १०५००, माओवादी केन्द्र २४०० तथा अरु साना दलका मत थिए । अहिले एमालेमाट टुक्रिएको एकीकृत समाजवादीले करिब ५ सय मत एमालेको काट्ने समाजवादीका नेताहरु बताउँछन् । त्यसबाहेक जनता समाजबादी, जनमोर्चा, जनमुक्ति, माओवादी क्रान्तिकारी लगायतका दलले पनि गठबन्धनलाई सघाउने भएपछि गठबन्धन दलको जीत हुने संकेत देखिएको हो । करिब ७ हजार नयाँ मतदाता थपिएसंगै सैनामैनामा मतसंख्या करिब ५८००० पुगेको छ । यसपटकका उम्मेद्वारमा अन्य दलका नेताहरु प्राय पुरानै अनुहारका भएपनि नेकपा माओवादी केन्द्रका नेता मानबहादुर महत (नारायण) नयाँ उम्मेद्वार हुन् । पार्टीका हिसावले पुरानै नेता भएपनि उम्मेद्वारको हिसावले उनी नयाँ र सैनामैनामा लोकप्रिय युवा नेता मानिन्छन् ।
को हुन् मानबहादुर महत ?
स्थानीयकाबीच नारायण महत भनेर चिनिने मानबहादुर महत एक सृजनशील र प्रगतिशील युवा नेता हुन् । सानै उमेरमा सामाजिक अभियन्ता र राजनीतिक उचाई हासिल गरेका महतको जन्म म्याग्दी जिल्लामा वि.सं. २०३६ साल साउन १० गते भएको हो । हाल सैनामैना वडा नं. २ कालिकाचोक निवासी महतले म्याग्दीमा विद्यार्थी जीवनमै राजनीति शुरु गरेका थिए । ०५४ सालदेखि विद्यार्थी राजनीति शुरु गरेका महतले ०५५ सालदेखि तत्कालिन माओवादीको युवा संगठन वाईसीएल नेपालमा आबद्ध भएर थप राजनीतिक उचाई हासिल गरे । ०५५ सालसम्म माओवादीको पूर्णकालिन कार्यकताको रुपमा काम गरेका महत ०६२÷०६३ मा जनसरकार प्रमुख समेत भए ।
रुपन्देहीको सैनामैना झरेसंगै विभिन्न सामाजिक संस्था र राजनीतिमा सक्रिय हुँदै आएका महत अहिले माआवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटि सदस्य र पार्टीको सैनामैना नगर अध्यक्ष छन् । गठबन्धन दलबाट मेयर पदमा उमेद्वारी दिन पाएको भए सहज जीत हुने आशा गरेका महतले उपमेयर पदमा पनि हार नहुने तर्क गर्दछन् । छोटो समयमै पनि उच्च सामाजिक हैसियत बनाएका महतले युवाहरुलाई रोजगारी दिने गरी विभिन्न कृषि फर्म तथा होटल संचालन गरेका छन् । थ्रीएस एग्रो र थ्रीएस होटल प्रालिमार्फत उनले धेरै युवायुवतीलाई रोजगार दिएको बताउँछन् । उनी सैनामैनाका विभिन्न शैक्षिक संस्था, रोटर क्लब, युवा क्लव तथा विभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।
आफूले यो निर्वाचन जितेपछि समग्र सैनामैनाको विकासलाई नयाँ मोडेल दिने उनको भनाई छ । सैनामैनामा धेरै गुणस्तहिन कामहरु भइरहेको र भ्रष्टाचारको जालो फैलिएको भन्दै महतले त्यसलाई आफूहरुले रोक्ने प्रयास गरिने बताए । उनले भने, ‘सैनामैनामा नीतिगत भ्रष्टाचार मौलाएको छ, विकास निर्माणका धेरै काम गुणस्तरहिन छन्, यसलाई हामीले रोक्ने छौं ।’
अपारदर्शी रुपमा बजेटहरु खर्च गरिएको भन्दै उनले यसमा पनि निगरानी राखिएको बताए । युवाहरुलाई स्वरोजगार र ब्यवसायिक बनाउन कोशिस गरिने उनको भनाई छ । सैनामैनामा धेरै समय अल्झेर रहेका मुद्दाहरु टुंग्याउन पनि आफूले प्रयास गर्ने उनले उल्लेख गरे । गठबन्धन दलबिरुद्ध चुनावी मैदानमा रहेको नेकपा एमालेमा धेरै विवाद र पार्टीगत समस्या रहेकाले पनि आफूहरुको जीत निश्चित रहेको मानबहादुर महतको ठहर छ ।