बल्ढेङगढीमा यो चुनावमा कस्ले बाजी मार्ला ?

1674

भुवन कार्की (टिप्पणी)
पाल्पा, २० बैशाख (०७९) । सबैतिर स्थानीय तहको निर्वाचन २०७९ को तीब्र तयारी छ । यही बैशाख ३० गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा जीत हासिल गर्न उम्मेद्वारहरु मैदानमा उत्रिसकेका छन ।
चुनावी रन्कोले पाल्पाको रैनादेवि छहरा वडा नं. ७ बल्ढेङगढीलाई पनि तताएको छ । यहाँका चुनावको लागि दुई प्यानल प्रतिस्पर्धामा छन् । यहाँको वडाअध्यक्ष पदको लागि गठबन्धनमा आवद्ध दलका तर्फबाट नेपाली काँग्रेसका यसअघिका वडाअध्यक्ष देबेन्द्र पुन उम्मेद्वार बनेका छन् भने नेकपा एमालेबाट झपिन्द्र रायमाझी उम्मेद्वार बनेका छन् । निकै उर्जावान यी दुई युवाबीचको चुनावी लडाई यसपटक निकै पेचिलो र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
को हुन् झपिन्द्र रायमाझी ?


बल्ढेङगढीको बल्ढेङमा विं.सं. २०५० साल मंसिर ८ गते जन्मीएका यी रायमाझीले आठ बर्ष नेपाली सेनाको जागिर खाएर राजनीतिमा आएका हुन् । उनी संभवत उमेरले यहाँका सबैभन्दा कान्छा उम्मेद्वार हुन् । राजनीतिमा चासो बढेपछि सेनाको जागिर नै त्यागेर साजनीतिमार्फत समाजसेवा गर्ने अठोट लिएका झपिन्द्र अहिले चुनावी मैदानमा डटेर लागीपरेका छन् । समाजसेवाको लागि रातदिन नभनी जनताको घरदैलोमा पुग्ने रायमाझीको सक्रिय राजनीतिक जीवन भने बिगत ५ बर्षअघिको स्थानीय तहको निर्वाचनदेखिको हो । अघिल्लो स्थानीय तहको निर्वाचनसम्म खासै जिम्मेवारीमा नभएका रायमाझीले पाँच वर्षको कठोर राजनीतिक दौडधुपपछि अहिले नेकपा एमालेको तर्फबाट वडाअध्यक्षको उम्मेद्वार बन्ने अवसर पाएका छन् । यो अवसर चुकाउन हुन्न भन्ने उद्देश्यका साथ उनी अहिले रातदिन जनताकै घरदैलोमा ब्यस्त छन् । यिनको आपचारिक शिक्षा एसएलसीसम्मको हो । सरल र मिजासिलो स्वभावका रायमाझीलाई धेरै युवाहरुको साथ देखिन्छ । उनी बिदेशमा बस्ने धेरै नेपाली युवाको समेत सम्पर्कमा छन् । उनी हालसम्म अविवाहित छन् । यो निर्वाचनमा जीत हासिल गरे बल्ढेङगढीको तीब्र विकासको लागि आफूले धेरैभन्दा धेरै मेहनत गर्ने उनले बताउँछन् ।
को हुन् देबेन्द्र पुन ?

अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका देबेन्द्र पुन नेपाली काँग्रेसका युवा नेता हुन् । उनी बल्ढेङगढीको सुकादमारमा विं. सं. २०४० साल कात्तिक ४ गते जम्मीएका हुन् । उनको घरपरिवारनै पहिलेदेखि राजनीतिमा सक्रिय रहेकाले उनले सानै उमेरमा वडाअध्यक्ष बन्ने अवसर पाए । तर पहिलो गासमै ढुंगा भनेझैं उनले पाँचवर्षको कार्यकाल पुरा गर्न भने पाएनन् । तीन बर्ष कार्यकाल सकिन लाग्दा उनी भ्रष्टाचार अभियोगमा फसे । वि.सं. २०७७ साल जेठ २४ गते उनी रुपन्देहीका काठ ब्यवसायी नारायण थापासंग ३ लाख घुस लिने क्रममा रकमसहित रंगेहात अख्तियारको टोलीबाट पक्राउ परे । केहीसमय अनुसन्धानकोे क्रममा हिरासत बसेका पुनले अन्ततः मुद्दा लडेर दुईवर्ष पछि सफाई पाए । अदालतबाट सफाई पाएलगत्तै पुनःपदबहाली भएका पुनले नेपाली काँग्रेसबाट फेरि वडाअध्यक्षकोे टिकट पाएका छन् । अहिले उनीपनि दिनरात चुनावी प्रचारमा खटेका छन् । एसएलसीसम्मको औपचारिक शिक्षा लिएका देवेन्द्र पनि युवाहरुबीच लोकप्रिय नै मानिन्छन् । सरल शैलीभएपनि उनी राजनीतिक खेलमा चतुर मानिन्छन् ।
वडाअध्यक्ष हुँदा गाउँमा बाटो बिस्तार र सुधारमा मुख्य पहल गरेका उनले बाटो बाहेकका अन्य जनजिविकाको क्षेत्रमा भने उल्लेखनीय काम गर्न सकेनन् । बरु पदमा रहंदा आफन्त र आफ्नो पार्टीका कार्यकर्तालाई लाभ दिने गरी काम गरेको स्थानीयहरु बताउँछन् । उनले धेरै उदाहरणी पुराना कार्यक्रमहरु कटौती गरेका थिए । आन्तरिक श्रोत र पालिका, प्रदेशबाट आउने करोडौं रकम खर्च भएपनि बाहिर देखिने नमूना काम केही गर्न सकेनन् । उनी विवाहित हुन् । उनी संचारकर्मीको सम्पर्कमा आउन पनि खासै रुचाउँदैनन् ।
कस्ले जित्ला चुनाव ?
यस वडापालिकामा १४ सय ६० मतदाता छन् । अघिल्लो निर्वाचनमा तीनवटा पार्टीका उम्मेद्वारहरु प्रतिस्पर्धामा थिए । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै प्रतिस्पर्धा गर्दा करिव साडे दुई सय मतान्तरले एमालेलाई पराजीत गर्दै नेपाली कांग्रेसले बिजय हासिल गरेको थियो । अहिले गठबन्धन दलमा कांग्रेस, माओवादी र समाजवादी छन् । तर माओवादीको भागमा उम्मेद्वार नपरेपछि माआवादीका करिब एक सय पचास भोट कता जान्छन् भन्ने विषयले पनि अर्थ राख्नेछ । गठबन्धन दलबीच खटपट भएका कारण माओवादी केन्द्रका भोट एमालेतिर जाने संभावना बढेको छ । कांग्रेसले गठबन्धन दललाई मिलाएर जानुको सट्टा एकलौटी तयारीमा लागेको छ । समाजवादीका भोट खासै गणनायोग्य छैनन् । अनुमानित दुई दर्जन भन्न सकिएला ।
समग्रमा अघिल्लो मत परिणामको आंकलन अनुसार नेपाली काँग्रेसले यो पटक पनि जित्ने अनुमान गर्न सकिन्छ । तर वडाअध्यक्षका उम्मेद्वार पहिलेजति सशक्त भएर आउन सकेका छैनन् । तीन लाख घुस काण्डमा फसेर निस्किएका पुनको राजनीतिक छबि धमिलिएको छ । यद्देपि उनले सफाई पाइसकेका छन् । तर दाग भने सजिलै मेटिने कुरा भएन, जसको कारण पहिला जस्तो लोकप्रिय मत यो पटक नआउन सक्छ । यसर्थ यो प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।
अर्कोतर्फ एमालेका वडाअध्यक्षका उम्मेद्वार झपिन्द्र रायमाझी यहाँको राजनीतिमा एक भर्जिन उम्मेद्वार हुन् । उनलाई धेरै मतदाताले परीक्षण गर्न चाहेको देखिन्छ । उनको योग्यता र क्षमताको जाँच गर्न धेरैले चाहेको आंकलन गर्न सकिन्छ । यसर्थ यसपटक विगतको मतान्तर झिनो हुनेछ । झिनो मतले यी दुई उम्मेदवारबीच हार जीत हुनेछ । ठोकुवा गर्न सक्ने अवस्था नभए पनि नयाँ उम्मेद्वार रायमाझीप्रतिको जनअपेक्षा बुझ्दा उनको जनमत बलियो बन्ने देखिन्छ । हुनत चुनावी रणनीतिमा पुन पनि कमजोर पात्र भने होइनन् । चुनावी रणनीतिमा को कति अब्वल हुन्छ, त्यो मतपरिणामले बताउने छ । गाउँमा अहिले पनि टेलिफोन, इन्टरनेट, सबैतिर मोटरबाटो र खानेपानीको समेत समस्या टरेको छैन । नीतिगत सुधारका काम त केही पनि हुनसकेको छैन । नमूना काम त परैजाओस् पुराना लोकप्रिय कार्यक्रम समेत हटाईएको छ । अतः अब आउने नेतृत्वले समग्र गाउँको विकासमा उदाहरणीय काम गर्न सकोस् दुबै उम्मेद्वार र उनीहरुको समग्र टिमलाई शुभकामना ।