तिलोत्तमामा गठबन्धन दलले थाले घरदैलो

452

तिलोत्तमा, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका तिलोत्तमा नगरका गठबन्धन दलका उम्मेद्वारहरुले बिहीबारदेखि औपचारिक रुपमा घरदैलो अभियान शुरु गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी यहाँ चुनावी अभियान संचालन गरेका हुन् । तिलोत्तमाका १७ वटै वडाबाट घरदैलो अभियान शुरु गरिएको छ ।
विहीबार वडा नं. ९ को मंगलापुरबाट घरदैलो अभियान शुरु गर्दै गठबन्धन दलका उम्मेद्वारहरुले यो निर्वाचनमा आफूहरुको जीत निश्चित भएको दाबी गरे । कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन मतदातासमक्ष अनुरोध गरे । आफूले मेयर पदमा जीते नगरको समग्र विकासमा तीब्रता दिने उल्लेख गरे । यसअघिको नगरपालिकाको नेतृत्वले विभिन्न परियोजनाको नाममा अनियमितता गर्ने गरेको आरोप लगाउँदै अब आउने नेतृत्वले त्यस्तो नगर्ने दाबी गरे । आफूले नगरमा जीत हासिल गरे अहिलेको नगरपालिकाको आधुनिक भवनलाई अस्पताल बनाउने उल्लेख गरे । जनताको घरमा पंखा नभएको तर जनप्रतिनिधिले एसी लगाएर सुविधा सम्पन्न भवनमा बस्ने गरेको उनको तर्क थियो । अर्को सामान्य नगरपालिका भवन बनाएर उक्त भवनलाई अस्पताल बनाईने उनले बताए । आफूहरुको घोषणापत्रमा यो उल्लेख गरिएको उनको भनाई थियो ।
कार्यक्रममा उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे । नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।
कार्यक्रममा कांगेस्र नेताहरु बाबुराम राना, हरिलाल पाण्डे, नारायण न्यौपाने, माओवादी नेताहरु बेलप्रसाद शर्मा, गोविन्द रेग्मी, गोपाल बस्याल लगायतले बोल्दै यो निर्वाचनमा गठबन्धनमा आबद्ध दलको बिजय हुने विश्वास ब्यक्त गरे ।