बल्ढेङगढीका वडा अध्यक्ष पुनको पुनर्बहाली

1086

पाल्पा, ५ बैशाख । यसअघि निलम्बनमा परेका पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन पुनर्बहाली भएका छन् । वि.सं. २०७७ साल जेठ २४ गते तीन लाख घुस रकमसहित पक्राउ परेका पुनको सोमबार पुनर्बहाली भएको हो । रुपन्देहीको सालझण्डीमा काठका ठेकेदार नारायण थापासंग तीन लाख घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको थियो ।
अदालतबाट सफाई पाएपछि पुनको पुनर्बहाली भएको वडा कार्यालयका कार्यलय सचिव रेमबहादुर पुनले जानकारी दिए । थापासंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको थियो । पुन नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको पहिलो निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । आफूलाई योजनाबद्ध रुपमा फसाइएको भन्दै उनी मुद्दा लडिरहेका थिए । पुनले सफाई पाएपछि बल्ढेङगढीका कांग्रेस कार्यकर्ताहरु उत्साहित भएका छन् । सोमबार पुनर्बहाली भएका पुनलाई वडाका जनप्रतिनिधि तथा कार्यकर्ताले वडा कार्यालयमा फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।