कृते गरेर नागरिता बनाउने धनबहादुर अदालत पेश

486

भुवन कार्की
पाल्पा, २४ चैत । कृते गरेर कागजात तयार गरी पाल्पाबाट नागरिता बनाउन सफल भएका बाग्लुङका २३ बर्षीय धनबहादुर कंडेललाई पाल्पा प्रहरीले पक्राउ गरी अदालत पेश गरेको छ ।
पाल्पाको रामपुर १४ निवासी ४९ वर्षीय पिताम्बर अधिकारीको छोरा बनेर कंडेलले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट वि.सं.२०७२ सालमा नागरिता बनाएका थिए । बाग्लुङको गलकोट नगरपालिका—८ पचुवा निवासी स्वर्गीय मानबहादुर कंडेलको राईलो (ठूलो कान्छो) छोरा धनबहादुरले नयाँ नाम (बिजय अधिकारी) कामय गरी रामपुरबाट नागरिता बनाएका थिए ।
भारतको मेघालयमा छिमेकीको रुपमा चिनजान भएर रामपुर पिताम्बरसंग आउनेजाने क्रममा पितम्बरका भाइ कृष्ण अधिकारीले धनबहादुरलाई नागरिता बनाईदिएका थिए । रामपुरमा अधिकारी परिवारमा आउनेजाने क्रममा पिताम्बर अधिकारीले आफ्नो छोरो भनी चिनाएकाले आफूले सनाखत गरेर नागरिता बनाईदिएको कृष्ण अधिकारीले बताएका छन् । तर पितम्बरले भने भाइ कृष्णले आफ्नो सम्पत्ति हड्प्ने प्रयासस्वरुप नागरिता बनाईदिएको र अंश मुद्दा हालेपछि बास्तविकता बाहिरिएको बताएका छन् ।
मिलापत्र खबर डटकमले पहिलो पटक बाग्लुङको गलकोट पुगेर स्थलगत अध्ययन गरी सार्वजनिक गरेपछि घटनाको पाल्पा प्रशासन र प्रहरीले अनुसन्धान शुरु गरेको थियो । मिलापत्र खबर डटकमले धनबहादुरका आमा तथा दाईहरु, तथा आफन्तलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिएको थियो । तर आफै सनाखत गरेर नागरिता बनाइदिने कृष्ण अधिकारीका राजनीतिक दलका केही पहुँचवाला नेताहरुको दवावको कारणले अनुसन्धानमा ढिलाई भइरहेको थियो । यसअघिका जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखले दवाव झेल्न नसकेर अनुसन्धानमा ढिलाई गरेका थिए । तर प्रशासन प्रमुख र प्रहरी प्रमुख नयाँ आएपछि यो अनुसन्धानलाई फेरि अघि बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (प्रहरी उपरीक्षक) जनकबहादुर शाहीका अनुसार केही दिन अघिमात्र धनबहादुर पाल्पाबाटै पक्राउ परेका छन् । मिलापत्रखबरको जिज्ञासामा प्रहरी उपरीक्षक शाहीले भने, ‘बिजय अधिकारीको नामबाट नागरिता बनाएका विवादित ब्यक्ति पक्राउ परेका छन्, उनलाई हामीले अदालत पेश गरेका छौं, अब अनुसन्धान थप अघि बढ्छ ।’ अनुसन्धानको लागि थप प्रमाणहरु पनि प्रहरीले शंकलन गरिरहेको शाहीले बताए ।
उता समाचार स्रोतका अनुसार यसअघि धनबहादुर घरबाट हराएको तर पाल्पाबाट नागरिता बनाएको भन्ने आफूहरुलाई केही जानकारी नभएको भनी प्रहरी कार्यालयमा बयान दिएका धनबहादुरका बाग्लुङ निवासी घरपरिवारले उपयुक्त विकल्पसहित धनबहादुरलाई घर फर्काउन चाहेको बताईएको छ । त्यसका लागि समन्वय गरिदिने मानिसको खोजिमा उनीहरु रहेको बताइन्छ ।
पहिलो पटक बाग्लुङ पुगेर मिलापत्र खबरले तयार गरेको यो अडियोभिडियो पनि हेर्नुहोस् । …

सम्पति हड्प्न नक्कली छोरोले बनाए पाल्पाबाट नागरिता