‘शव जलाउने काठ पनि अभाव भयो’

237

बुटवल २४ बुटवल । विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध महिलाहरुले सरकारको स्पस्ट नीति नहुँदा वनमा काठ सडेर जाने गरेको तर समुदायमा शव जलाउने काठ समेत अभाव हुने गरेको गुनासो गरेका छन् ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वय हुन नसक्दा समयमा ढलापडा काठ समेत निकासी हुन नसकेको उनीहरुले बताए । समुदायमा काठ अभाव हुँदा शव जलाउने काठ समेत अपुग हुने गरेको उनीहरुको गुनासो छ । बुधबार वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको आयोजना तथा संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा बुटवलमा भएको वन क्षेत्रमा लैंगिक तथा सामाजिक समावेशीकरण अभिमुखीकरण कार्यक्रममा बोल्ने सरोकारवाला महिला तथा संचारकर्मीले बजारमा काठ अभाव भएकाले ब्यवसायीले विदेशबाट काठ मगाउने गरेको तर नेपालकै वनमा ढलापडा रुखहरु निकासीमा डिभिजन वन कार्यालय एवं सरकारी निकायले ध्यान दिन नसकेको, ढिलाई गर्ने गरेको बताए । महिलाहरुले सामुदायिक वन उपभोक्ता समूहमा आफूहरुको पहँुच कम भएको गुनासो पनि गरे ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ न्यायिक समिति संयोजक सावित्रा रेग्मीले भनिन्, ‘सरकारले वन ब्यवस्थापनका विभिन्न नाम दिए पनि जंगलका ढलापडा रुख समेत निकासीका लागि अनुमति नदिंदा समुदायमा शव जलाउने काठ समेत अभाव भयो ।’ बैज्ञानिक वन ब्यवस्थापन जस्ता विभिन्न नामका कार्यक्रम ल्याएपनि वनको दिगो ब्यवस्थापन गर्न नसक्दा काठ निकासीमा पनि अलमल भएको उनको भनाई थियो । बजारमा काठ अभाव भएर ब्यवसायीले विदेशबाट काठ ल्याउने गरेका तर सामुदायिक वनमा काठ कुहिरहेको उनले उल्लेख गरिन् ।
सामुदायिक वन उपभोक्ता महासंघ कन्ेद्रीय सदस्य बालिका बुढाथोकीले महिलाले वन उपभोक्ता समूहमा आफ्नो पहुँच बढाउन नसकेको भन्दै राजनीतिक भागवण्डाले समेत आफूहरुको अभियानमा असर परेको उल्लेख गरिन् । वन संरक्षणको अभियानमा महिलाहरु नै बढी सक्रिय तर महिलालाई उपयुक्त पदमा राख्न आनाकानी गर्ने गरिएको तर्क गरिन् । पुरुषहरुको तुलनामा महिलालाई कम सहभागी गराउने गरिएको उनको भनाई छ । कामको हिसावले पुरुषभन्दा महिला पारदर्शी हुनेभएपनि उपयुक्त स्थान महिलाहरुले पाउन नसकेको उनले चर्चा गरिन् ।
कार्यक्रममा वन वतावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले प्रदेश सरकारले वन ऐन गत मंसिरमा पास गरेको र नियमावलीको काम पनि अन्तिम चरणमा पुगेको जानकारी गराए । नियमावली तयार भएपछि कतिपय कानुनी जटिलता समाप्त हुने उनको भनाई थियो । वनप्रति सबैले अधिकार लिन कर्तब्यलाई पनि भूल्न नहुने उहाँको तर्क छ । त्यसैगरी कर्मचारीलाई झक्झकाउनुपर्ने उनले उल्लेख गरे । कतिपय काम कर्मचारीकै कारण पनि ढिला हुने गरेको उनले स्विकार गरे ।
संचारिका समूहकी अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा वन क्षेत्रका अगुवा महिलाहरु रिता घिमिरे, पार्वती आचार्य, मिना पाण्डे, श्यामकला आचार्य तथा पत्रकारहरु डी.आर. घिमिरे, भुवन कार्की, सीता डोटेल, विष्णु खनाल लगायतले बोल्दै वनको दिगो ब्यवस्थापनमा अभियन्ता, वन कर्मचारी तथा पत्रकारले उचित पहल गर्नुपर्ने बताए ।