टाइफाइडविरुद्धको खोप अभियान शुरु

105

रुपन्देही, २१ चैत । टाइफाइड रोग विरुद्ध चैत २२ गतेदेखि रुपन्देहीमा खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
रुपन्देहीमा पहिलो चरणमा चैत २२ गतेदेखि बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । त्यस्तै दोस्रो चरणमा वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ ।
जिल्लामा २ लाख ६६ हजार ५१८ जना लक्षित समूह रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट खोप लगाइने जसमा १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना स्वास्थ्य कर्मी, सुपरिवेक्षक तथा सहयोगी संघसंस्था रहेका छन् ।
बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिएको खोप अधिकृत शर्माले जानकारी दिए ।
देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिएको छ । स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए । टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको छ ,अभियान पछि यसलाई नियमित खोपमा राखिने छ ।
भारतको वायोलोजिकल ई. लिमिटेडले उत्पादन गरेको यो खोपसँगै बालबालिकाहरुमा टाइफाइड हुने सम्भावना ९६ दशमलव ९५ प्रतिशतले कमी हुने विश्व स्वास्थ्यसंगठनको अनुसन्धानले देखाएको छ ।
टाइफाइडका कारण अन्य उमेर समूहभन्दा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरु धेरै प्रभावित भएका कारण सोही अनुसार खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले भने । चुनौती भए पनि सबै मिलेर टाइफाइड रोगविरुद्धको खोप अभियानमा ९५ प्रतिशतलाई सरिक गराउने हिसाबले तयारीभएको बताए, स्थानीय तहसँगको समन्वयमा यो अभियान सपल हुनेमा विश्वस्त रहेको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घर घर पुगेर अभियान सफल बनाउन हामी गम्भिर रहेको बताए । माग अनुसारको खोप हुन्छ, यो अभियान सफल पार्न स्थानीय तह, शिक्षकशिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सबैले भूमिका खेल्नु पर्ने बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले खोपबाट छुट्नु हुदैन भन्ने सन्देश कुना कुनामा पु¥याउनु पर्ने बताए । रुपन्देही उत्कृष्ट जिल्लाको रुपमा आउने हुदा रोग लाग्न नदिन विशेष ध्यान दिदै सरसफाई,खानपान र सौन्दर्यीकरणमा रुपन्देहीबासीले ध्यानदिनु पर्ने बताए ।
स्वास्थ्य कार्यालयको भूमिका राम्रो र प्रभावकारी रहेको बताए । उनले टाइफाइडविरुद्धको खोपलाई अभियानकै रुपमा सञ्चालन गरिने बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक एक लाख संक्रमित मध्ये १० हजार ६२ जनाको मृत्यु हुने गरेको छ भने बालबालिकाहरुको हकमा यो दर अझ बढी रहेको छ । बालबालिकाहरुमा संक्रमणको सम्भावना समेत ११ गुण बढी हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।