मजदुरदेखि मूल राजनीतिमा उदाएका युवा ब्यवसायी प्रेम

1647

(प्रोफाइल)
बुटवल । श्रमले मानिसलाई सक्षम बनाउँछ । श्रम गर्न सक्ने मान्छेले प्राय हारेको हुँदैन । सानैदेखि लगनशील भएर कर्म गर्ने मानिसका सफलताका कथा धेरै भेटिन्छन् समाजमा । आफ्नै परिश्रमले सफलतातर्फ लम्केका एक युवाको नाम हो प्रेमबहादुर घर्ती (प्रेम जीएम) ।
प्रेम जीएम वि.सं. २०३७ साल माघ १५ गते सल्यान जिल्लाको साविक डाँडागाउँ गाविस, हालको सारदा नगरपालिका वडा नम्बर १४ मा जन्मेका एक सशक्त युवा हुन् । हाल उनको बसाई रुपन्देहीको तिलोत्तमा ७ भलवाडीमा छ । रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेका प्रेमको सुरुवाति अवस्था निकै संघर्षपूर्ण थियो । वाल्यकालदेखि नै संघर्षपूर्ण जीवन बिताएका जीएमको जिन्दगीमा धेरे उतारचढाव आए । कक्षा १० मा अध्ययन गर्दै गर्दा राजनीतिक र ब्यवसायिक जीवनको शुरुवात गरेका उनको जीवन विस्तारै सफलतातर्फ उम्मुख छ ।
विद्यार्थी जीवनमा केही समय तत्कालिन माओवादी जनयुद्धमा हिंडेका प्रेमले वि.सं. २०५५ सालमा दाङमा हाउसवाईरिङको काम सिके । ०५७ सालमा रुपन्देही झरेपछि पनि वाईरिङको कामलाई निरन्तरता दिए । एक मजदुरको रुपमा ब्यवसायिक जीवन शुरु गरेका जीएमले विस्तारै यातायात क्षेत्रमा लागेर मजदुरको राजनीति पनि गरे । अर्काको गाडीमा धेरै समय सहचालक र चालकको काम गरेका प्रेमले त्यहीबेलादेखि तत्कालिन माओवादी निकटको मजदुर संगठनमा लागेर सक्रियता देखाए । अखिल नेपाल स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा रहेर काम गरे । करिव नौ वर्ष अर्काको गाडी चलाएर मजदुरको कठोर संघर्षपूर्ण जीवन बिताएका उनी पछिल्लो दश वर्षभित्रमा सक्षम मालिक बन्न सफल भएका छन् । कुनै बेला इन्धन बोक्ने ट्यांकर चालकका रुपमा परिचय बटुलेका उनका अहिले आफ्नै तीनवटा ट्यांकर छन् । अहिले उनी आफै मालिक बनेका छन् । उनको आम्दानी पनि राम्रो छ । स्थानीय युवालाई अहिले उनले नै रोजगारी दिएका छन् ।
खासगरी मजदुर नेताको रुपमा स्थापित हुँदै गएका प्रेम जीएम अहिले नेपाली राजनीतिको मूलधारमा समाहित भएका छन् । हालैमात्र सम्पन्न नेकपा माओवादी केन्द्र तिलोत्तमाको अधिवेशनबाट उनी उपाध्यक्ष चयन भएका छन् ।
उनले हाल रुपन्देहीका दर्जनौं सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिरहेका छन् । तिलोत्तमा उद्योग ब्यपार संगठनका अध्यक्ष रहेका प्रेम नेपाल मगर युवा संघ तिलोत्तमाको अध्यक्ष, नेपाल रेम्वोकाइ कराँते संघ रुपन्देही अध्यक्ष, भलवाडी हाटबजार ब्यवसायी संघको अध्यक्ष, बुद्ध टोल सुधार समिति अध्यक्ष, वाईसीएल क्षेत्र नंं. १ अध्यक्ष र सेन्ट जोसेफ स्कूलका अध्यक्ष रहेका छन् । त्यस्तै पेट्रोलियम ढुवानी महासंघको केन्द्रीय सदस्य, पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघकोे सहमहासचिव लागयतका थुपै ब्यवसायिक संघसंस्थामा उनी आबद्ध छन् ।


खेलक्षेत्रमा पनि निकै चासो राख्ने प्रेमले खेलाडीहरु लिएर विदेशमा समेत सहभागिता जनाउने गरेका छन् । उनले मलेशिया र सिंगापुरमा करांते र तेक्वान्दो खेल खेलाएका थिए । उनी तिलोत्तमा नगर खेलकुंद विकास समितिमा पनि आबद्ध छन् । प्रेमले हालसम्म १५ देशको भ्रमण गरिसकेको बताएका छन् । ब्यवसायिक सिकाइ र खेल क्षेत्रको विकासको लागि विदेशमा भ्रमण गरेको उनले बताए । खेलसंगै उनी सांगीतिक क्षेत्रमा पनि संलग्न छन् । हालसम्म उनले चारवटा गीतमा अभिनय तथा लगानी गरेको जानकारी दिए ।
वि.सं. २०५४ सालमा सल्यानकै गीता घर्तीसंग वैवाहिक जीवनका बाँधिएका प्रेमका दुई छोरी र एक छोरा छन् । ब्यवसायिक तथा राजनीतिक जीवनमा आफूलाई सफल बनाउन श्रीमति गीताको निकै ठूलो सहयोग रहेको उनी बताउँछन् । यसरी जीवनका उकाली ओराली पार गर्दै राजनीतिक क्षेत्रमा समेत स्थापित हुँदै गएका युवा नेता प्रेम अध्यक्ष रहेको तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले यो वर्ष तिलोत्तमामा औधोगिक ब्यापार मेला लागाउने तयारी गरेको छ । हाल यसै कार्यमा ब्यस्त रहेका उनको जीवन थप सुखमय रहोस् शुभकामना ।