चुनावको माहोल बन्दैछ : प्रचण्ड

349

स्मृतिमा टंकमणी

रुपन्देही, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि) को निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन् । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने टंकमणिको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उनको भनाई थियो । टंकमणीले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको शालिक राख्न पनि स्थानीय पार्टीलाई उनले आग्रह गरे । मृतक बन्जाडेको जीवनी समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरुलाई प्रचण्डले आग्रह गरे ।
मंगलबार रुपन्देहीमा पार्टीका जिल्ला इन्चार्ज स्वर्गीय रामप्रसाद बन्जाडे (टंकमणी) को सातौं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली ब्यक्त गर्न आएका अध्यक्ष प्रचण्डले एक अर्को प्रसंगमा देशमा चुनावी माहोल महोल तयार भइरहेको बताए । विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलनहरु सम्पन्न भइरहनुले पनि चुवावी महोल तयार हुँदै गएको उनले उल्लेख गरे ।
उनले भने, ‘विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुवावको तयारी भइरहेको संकेत गरेको छ, चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुवाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलिरहत बनाउनुपर्छ ।’
पार्टीका जिल्ला संयोजक नारायण जीसी (निर्मल)को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा मृतक बन्जाडेकी श्रीमती खुमा बन्जाडे, पार्टी नेताहरु चक्रपाणी खनाल, पूर्णबहादुर घर्ती तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शोक मन्तब्य ब्यक्त गरेका थिए । अध्यक्ष प्रचण्ड मंगलबार रुपन्देही पार्टीको आन्तरिक प्रशिक्षणमा पनि सहभागी भएको जिल्ला संयोजक नारायण जीसी (निर्मल) ले जानकारी दिए ।
प्रचण्डलाई बिमानस्थलमा भब्य स्वागत


धेरै समयपछि पार्टी अध्यक्ष प्रचण्ड रुपन्देही आएपछि भैरहवा विमानस्थलमा नेता तथा कार्यकर्ताले भब्य स्वागत गरे । पार्टीका विभिन्न जनबर्गीय संगठनले प्रचण्डलाई फूलमाला तथा खादा ओढाएर स्वागत गरे । सबैभन्दा अग्रपंक्तिमा रहेको तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले पहिलो स्वागत गरेको थियो । आफ्नै संगठनको विषेश पोशाकमा गएको अध्यक्ष प्रेमबहादुर घर्ती नेतृत्वको टोलीले विषेश स्वागत गरेको थियो । त्यस्तै देवदहको वाइसीएल लगायतका संघ संगठनका प्रतिनिधिले प्रचण्डलाई भब्य स्वागत गरेको थियो । विमानस्थलमा नेता कार्यकर्ताको भिड लागेको थियो ।