पर्यटनको नयाँ रणनीति बनाउँदै लुम्बिनी प्रदेश सरकार

280

भुवन कार्की
बुटवल, २६ असोज । कोभिड १९ ले लामो समय थलिएको पर्यटन क्षेत्र विस्तार चलाएमान हुने संकेत देखिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका मुख्य पर्यटकीय गन्तब्यहरुको पहिचान गरी प्रादेशिक पर्यटन रणनीति बनाउनेभएको छ । लुम्बिनी प्रदेशभित्र रहेका महत्वपूर्ण पर्यटन गन्तब्यहरुको अभिलेखिकरण र प्रोफाइल समेत निर्माण गर्ने प्रदेश सरकारको योजना छ ।
गत असोज २० गते लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा पर्यटन रणनीतिबारे उल्लेख गरिएको छ । यो वर्ष प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयले लिएको योजना अनुसार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पहाडी पर्यटनमैत्री शहर निर्माणको लागि गुरुयोजना बनाउने योजना छ । ती पहाडी पर्यटनमैत्री सहर निर्माण गर्न डीपीआर तयार गर्ने गरी प्रदेश सरकारले आवश्यक रकमकोे ब्यवस्था समेत गरेको छ । त्यस्तै पहाडी जिल्लाहरुमा हिलस्टेशन निर्माण गर्न अध्ययन थालिने पनि प्रदेश सरकारले जनाएको छ ।
पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीका अनुसार पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा लगायतका पहाडी जिल्लाका केही बजारहरुलाई पर्यटनमैत्री पहाडी शहरको रुपमा विकास गर्न डीपीआरका काम थालिने छ । त्यसका लागि आवश्यक बजेटको पनि अर्थ मन्त्रालयले ब्यवस्था गरेको छ । पाल्पाको रामपुर बजारलाई पर्यटनमैत्री पहाडी शहरको रुपमा विकास गर्न भन्दै डीपीआरको लागि साढे १५ लाख रुपैयाँ व्यवस्था गरिएको छ । त्यस्तै गुल्मीको रिडी, वामी टक्सार बजार, प्यूठानको भिङ्ग्री, मच्छी बजारलाई पनि पर्यटनमैत्री पहाडी शहरको रुपमा विकास गर्न डीपीआरको लागि रकमको ब्यवस्था गरिएको छ ।
विश्व शान्तिको मुहान लुम्बिनीको माटो र पानी प्रयोग गरी बुद्धमूर्ति तथा कोशेलीहरु निर्माण गर्ने उद्योग खोल्न प्रदेश सरकारले तीन कारोड रकमको बजेट व्यवस्था गरेको छ । यसको तयारी गोष्ठीको लागि मात्र १५ लाख रकमको व्यवस्था गरिएको छ । प्रदेश सरकारले पाल्पाको श्रीनगर र नुवाकोटमा सांस्कृतिक डबली निर्माणको लागि रकमको ब्यवस्था गरिएको छ । बुटवल ११ स्थित भुवनसिंह मार्गमा पर्यटकीय पार्क बनाउन २० लाख बजेटको ब्यवस्था गरिएको छ । बजेटमा गुल्मीको रेसुङ्गा, प्यूठानको स्वर्गद्धारी, पाल्पाको श्रीनगर, बल्ढेङगढी लगायतका पर्यटकीय ठाउँको विकासका लागि कार्यक्रमहरु ल्याइएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेट बक्तब्य अनुसार यो वर्ष पर्यटन नीति, निर्देशिकाहरु निर्माण गरिने छ । नयाँ रणनीति बनाइने छ । होमस्टेहरु ब्यवस्थित गर्ने गरी आवश्यक बजेट ब्यवस्था गरिएको छ । होमस्टे व्यस्थापनका लागि तालिमहरु संचालन गरिने छ । होटल ब्यवसायी, यातायात व्यवसायी, ट्रावल एजेन्सी तथा पर्यटन क्षेत्रका विज्ञहरुसंग सहकार्य गरी पर्यटन सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया गर्न बजेटको ब्यवस्था गरिएको छ । प्रदेश सरकारले रुपन्देहीको लुम्बिनी, कपिलबस्तुको तिलौराकोट, बाँके राष्ट्रिय निकुञ्ज, वर्दिया राष्ट्रिय निकुञ्जमा टुरिष्ट गाईडको तालिम दिने गरी बजेटको ब्यवस्था गरेको छ ।
कोभिड १९ को कारण लामो समयसम्म थलिएको पर्यटन क्षेत्र विस्तारै चलाएमान हुन थाले पनि लुम्बिनी प्रदेश सरकारले पर्यटन विकासका लोकप्रिय कार्यक्रमहरु भने ल्याउन सकेन । अपेक्षा अनुसारको पर्यटनका कार्यक्रम घोषणा नभएको सरोकारवालाहरुको गुनासो छ । बुटवलका पुराना पर्यटन ब्यवसायी माधव नेपालले भने, ‘बजेटले पर्यटनको क्षेत्रमा नयाँपन दिन नसकेपनि केही पुराना कार्यक्रमलाई भने निरन्तरता दिएको छ, अब नयाँ कार्यक्रम ल्याउनुपर्छ ।’ पर्यटन क्षेत्रलाई थप चलाएमान बनाउन नयाँ र ग्रामीण विकासमुखी कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव कपिल ज्ञवालीले प्रदेश सरकारले अब पर्यटन क्षेत्रको तीब्र विकासको लागि नयाँ रणनीति तत्काल सार्वजनिक गर्नुपर्ने उल्लेख गरे । नयाँ रणनीति अनुरुप संचार जगतले पनि पर्यटन विकासको लागि सरकारसंग सहकार्य गर्न आतुर रहेको उनको भनाई छ । पर्यटन क्षेत्रमा कलम चलाउँदै आउनुभएका लेखक दलबहादुर गुरुङले ग्रामीण पर्यटनको विकास गर्न सके जनताको आयआर्जनमा टेवा पुग्ने बताए ।
फाइल तस्विरमा लुम्बिनी र रुकुमको सिस्ने हिमाल ।